
विराटनगर । मोबाइल चोरी गरेको आरोपमा केही युवाले हत्या गर्ने धम्की दिएको तीन दिनपछि विराटनगरमा एक युवकको शव उखुबारीमा फेला परेको छ ।
विराटनगर महानगरपालिका–४ इक्राहीका ३२ वर्षीय राजन दासको हत्या गरेर फालेको अवस्थामा शुक्रबार दिउँसो इक्राहीकै उखुबारीमा शव भेटिएको हो । तीन दिनदेखि परिवार र आफन्तको सम्पर्कबाट बाहिर रहेका दासको खोजी भइरहेका बेला उनको शव प्रेम गौतमको खेतमा बलराम यादवले लगाएको उखुबारीभित्र घोप्टो परेको अवस्थामा फेला परेको थियो । सुरुमा पहिचान नखुलेको शव पछि स्थानीय ३२ वर्षीय दासको रहेको पुष्टि भएको मोरङ प्रहरीले जनाएको छ ।
शवको प्रकृति र शरीरमा देखिएका चोटपटकले दासको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । उनको दाहिने कान, आँखा, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । हातको एउटा औँला काटिएको र घाउबाट सामान्य रक्तस्राव भइरहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शरीरमा लगाएका कपडा भने यथावत् थिए ।
घटनाको जानकारी पाएलगत्तै मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं घटनास्थल पुगेका थिए । फरेन्सिक चिकित्सकसहितको प्रहरी टोलीले घटनास्थलको निरीक्षण र प्रारम्भिक अनुसन्धानबाट हत्या भएको निष्कर्ष निकालेको हो । हत्यामा संलग्नको पहिचान तथा खोजीका लागि तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरिएको छ ।
प्रहरीको प्रारम्भिक आकलनअनुसार दासको हत्या बिहीबार राति भएको हुनसक्छ । हत्या गरेपछि शव उखुबारीमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ । तर, हत्या कसले र कुन कारणले गरेको हो भन्ने खुलेको छैन ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार दासमाथि मोबाइल चोरीको आरोप लगाउँदै तीन दिनअघि केही युवा उनको घरसम्म पुगेको जानकारी परिवारका सदस्यले दिएका छन् । उनीहरूले दासलाई भेटे हत्या गर्नेसम्मको धम्की दिएको जानकारी प्रहरीले प्राप्त गरेको छ । ती युवा घर पुग्दा दास भने त्यहाँ थिएनन् ।
मोबाइल चोरीको आरोप लगाउने युवाहरूमाथि पनि प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । उनीहरूकै संलग्नतामा हत्या भएको हुनसक्ने आशंका गरिए पनि अहिलेसम्म कसैको संलग्नता पुष्टि भइसकेको छैन । प्रहरीले सम्भावित सबै कोणबाट अनुसन्धान अघि बढाएको छ ।
‘मोबाइल चोरीको आरोप लगाएर केही युवा दासको घरसम्म पुगेका रहेछन् । भेटेमा हत्या गर्ने धम्की दिएको भन्ने जानकारी आएको छ । मोबाइल चोरीकै विषयलाई लिएर हत्या भएको हो वा अन्य कारण छ भन्ने अनुसन्धानपछि मात्रै खुल्छ,’ प्रहरी स्रोतले भन्यो ।
परिवारले दिएको जानकारीअनुसार दास काठमाडौंमा रङ लगाउने काम गर्दै आएका थिए । छठ पर्वको समयमा उनी काठमाडौंबाट घर आएका थिए । परिवारका सदस्य र आफन्तले उनी तीन दिनदेखि सम्पर्कमा नरहेको बताएका छन् । सम्पर्कविहीन भएपछि उनीहरू दास काठमाडौं फर्किएको हुनसक्ने अनुमानमा थिए । तर, अनुमानविपरीत शुक्रबार उनको शव नै भेटियो ।
दासकी श्रीमती पार्वती दास दुई वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा कुवेतमा छिन् । प्रहरीका अनुसार उनीहरूबीचको सम्बन्ध राम्रो नरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । दासका १३ वर्षकी छोरी र १२ वर्षका छोरा रहेको परिवारले जनाएको छ । उनीहरूको हेरचाह र लालनपालन दासकी सालीले गर्दै आएकी थिइन् ।
मृतकको गोजीबाट गाँजा सेवन गर्न प्रयोग गरिने चिलिमसमेत फेला परेको प्रहरीले जनाएको छ । चिलिम भेटिएकाले दासले गाँजा सेवन गर्ने गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, यसको हत्यासँग कुनै सम्बन्ध छ वा छैन भन्ने खुलेको छैन ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार पारेर आवश्यक प्रमाण संकलन गरेको छ । कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको जानकारी डीएसपी मिश्रले दिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ । पोस्टमार्टम रिपोर्ट, घटनास्थलबाट संकलित प्रमाण र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा हत्याको कारण पत्ता लाग्ने प्रहरीको भनाइ छ ।
‘घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेका छौं । आवश्यक प्रमाण संकलन भइरहेको छ । हत्यामा संलग्नको पहिचान गरी तत्काल पक्राउ गर्न विशेष टोली परिचालन गरिएको छ । घटनाको अनुसन्धानलाई तीव्र बनाएका छौं,’ डीएसपी मिश्रले भने ।

























