
विराटनगर । शवदाहका लागि दाउरा अभाव हुने, उपभोग्य सामग्रीमा चर्को मूल्य लिने र शवदाहपछि निस्कने सामग्रीको उचित व्यवस्थापन नहुने गुनासो बढेपछि विराटनगर महानगरपालिकाले हाटखोलास्थित श्मशान घाटको व्यवस्थापन सुधार्ने भएको छ ।
विराटनगर महानगरपालिका–७ स्थित घाटमा केही दिनयता शवदाहका लागि पुगेका आफन्तले आवश्यकताअनुसार दाउरा नपाएको गुनासो गरेका थिए । केही दिनअघि एकैदिन तीनवटा शव लिएर पुगेका आफन्तले दाउरा अभाव भएपछि शव अन्यत्र लैजानुपर्ने अवस्था आएको थियो । घटनापछि घाट व्यवस्थापनप्रति नागरिकस्तरबाट आलोचना बढेको थियो ।
गुनासो सम्बोधन गर्न नगरप्रमुख नागेश कोइरालाले शुक्रबार घाट व्यवस्थापन समितिका पदाधिकारी र सम्बन्धित वडाका जनप्रतिनिधिसँग छलफल गरेका छन् । छलफलमा घाटमा देखिएका समस्या तत्काल समाधान गरी सेवाग्राहीलाई सहज वातावरणमा सेवा उपलब्ध गराउन उनले निर्देशन दिएका छन् ।
महानगरले अब परोपकार घाट र श्मशान घाट दुवैमा दाउराको एकरूप मूल्य निर्धारण गर्ने भएको छ । दुवै घाटका व्यवस्थापन समितिका पदाधिकारीसँग समन्वय गरेर निश्चित दररेट कायम गरिने निर्णय भएको छ । यसले दाउराको मूल्यमा मनपरी हुन नदिने महानगरको अपेक्षा छ ।
त्यस्तै, शवदाहपछि बाँकी रहने दाउरा, कपडा, फूलमाला र अन्य सामग्री खोलामा जथाभावी फाल्न रोक लगाइने भएको छ । त्यस्ता सामग्री संकलनका लागि निश्चित स्थान तोकेर व्यवस्थित रूपमा व्यवस्थापन गरिनेछ ।
घाट परिसरमा सञ्चालित चमेनागृहमा चिया, पानी, बिस्कुटलगायत उपभोग्य सामग्रीको मूल्य पनि बजार मूल्यभन्दा बढी लिन नपाइने व्यवस्था गरिने भएको छ । सेवाग्राहीलाई सामान्य उपभोग्य सामग्री खरिदमा समेत अतिरिक्त मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न यस्तो निर्णय गरिएको महानगरले जनाएको छ ।
घाट परिसरमा पर्याप्त प्रकाशको व्यवस्था गर्न विद्युत् तथा बत्तीको व्यवस्थापन गर्ने निर्णय पनि भएको छ। सरसफाइ, समग्र व्यवस्थापन र सेवाप्रवाहको नियमित अनुगमन गर्ने जिम्मेवारी वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी र वडा नम्बर ८ का अध्यक्ष राम पोखरेललाई दिइएको छ ।
छलफलमा दुवै वडाका अध्यक्षले वर्तमान व्यवस्थापन समितिको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सेवाप्रवाह सुधार्न आग्रह गरेका थिए । उनीहरूले समितिले अपेक्षाअनुसार काम गर्न नसकेको र अघिल्लो समितिको कार्यकालमा यस्ता गुनासा नआएको बताएका थिए ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, घाट व्यवस्थापन समितिका अध्यक्ष सतिश दुगड, कोषाध्यक्ष जुगलकिशोर राठीलगायत सहभागी थिए ।

























