भारतमा जापानी क्षेप्यास्त्र परीक्षण हुने

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार ०६:५७

टोकियो । भारत र जापानबीच रक्षा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित भारतीय सैन्य परीक्षण केन्द्र प्रयोग गर्ने महत्त्वपूर्ण सहमति भएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरको टोलीको टोकियो भ्रमणका क्रममा बिहीबार दुई देशबीच उक्त सहमति भएको हो ।

बैठकपछि जापानी रक्षामन्त्री शिनजिरो कोइजुमीले आगामी वर्ष जापानको आत्मरक्षा बलले पहिलोपटक भारतको क्षेप्यास्त्र परीक्षण केन्द्र प्रयोग गर्ने जानकारी दिए । उनले यसलाई रणनीतिक दृष्टिकोणबाट महत्त्वपूर्ण कदम भएको बताएका छन् ।

सहमतिअनुसार सन् २०२७ मा जापानले भारतको परीक्षण केन्द्रमा लामो दूरीका क्षेप्यास्त्र तथा साना आक्रमणकारी ड्रोनको परीक्षण गर्नेछ । विशेषगरी करिब एक हजार किलोमिटर मारक क्षमता भएको जहाजविरोधी ‘टाइप–२५’ क्षेप्यास्त्र परीक्षण गर्ने तयारी छ ।

लामो दूरीका क्षेप्यास्त्र परीक्षणका लागि आवश्यक ठूलो र सुरक्षित समुद्री क्षेत्रको खोजीमा रहेको जापानका लागि भारतको परीक्षण पूर्वाधार उपयोगी हुने देखिएको छ ।

सन् २०२७ मा भारत र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ । यस्तो अवस्थामा भएको रक्षा सहमतिलाई दुई देशबीचको सुरक्षा साझेदारी विस्तार गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.