जलवायु परिवर्तनले चमेराबाट मानिसमा रोग सर्ने जोखिम बढाउँदै

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार १२:४२

एजेन्सी । जलवायु परिवर्तन, अत्यधिक गर्मी र प्राकृतिक वासस्थानको विनाशले चमेराबाट मानिसमा सर्न सक्ने घातक रोगको जोखिम बढाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ । अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार बढ्दो तापक्रम, वन विनाश र जैविक विविधतामा आएको ह्रासले प्राकृतिक पारिस्थितिक प्रणालीमा असर पारिरहेको छ । यसले चमेराको वासस्थान र आहारमा परिवर्तन ल्याउनुका साथै चमेरा, मानिस र घरपालुवा जनावरबीचको सम्पर्क बढाइरहेको छ ।

चिकित्सा जर्नल ‘द बीएमजे’ मा प्रकाशित अन्तर्राष्ट्रिय समीक्षात्मक अध्ययनमा इबोला, मारबर्ग, निपाह, हेन्द्रा र अस्ट्रेलियन ब्याट लाइसा भाइरसजस्ता चमेराबाट सर्न सक्ने खतरनाक रोगको संक्रमण, रोकथाम र व्यवस्थापनबारे विश्लेषण गरिएको विश्वविद्यालयले जनाएको छ ।

अध्ययनकी प्रमुख लेखक जेसिका स्ट्यानहोपका अनुसार जलवायु परिवर्तन र वासस्थानको विनाशले चमेराको प्राकृतिक जीवनमा थप दबाब सिर्जना गरिरहेको छ । यसका कारण चमेराहरू सीमित प्राकृतिक वासस्थानमा अनुकूलित हुन बाध्य भइरहेका छन् । यसले मानिससँगको सम्पर्क बढाउन सक्ने अवस्था सिर्जना भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अनुसन्धानकर्ताहरूले सहरी क्षेत्रमा रूख कटान र कृषि विस्तारका कारण चमेरा, मानिस तथा पशुधनबीचको सम्पर्क बढ्न सक्ने चेतावनी दिएका छन् । अत्यधिक गर्मीले चमेराबाट निस्कने भाइरसको मात्रा बढाउन सक्ने तथा तातो हावाका लहरका कारण चमेराहरू बिरामी पर्ने वा मर्न सक्ने सम्भावना पनि अध्ययनमा औँल्याइएको छ ।

भविष्यमा सम्भावित महामारीको जोखिम कम गर्न अनुसन्धानकर्ताहरूले चमेराको प्राकृतिक वासस्थान संरक्षण र पुनःस्थापना, संक्रमित जनावरसँगको सम्पर्क न्यूनीकरण तथा प्रभावकारी खोप र उपचारको विकासमा जोड दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.