विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा एकैदिन भएका १२ वटा सवारी दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको छ भने २० जना सामान्य घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल, स्कुटर, बस, अटो, मारुती भ्यान तथा साइकल संलग्न रहेका छन्।
मोरङ, झापा, इलाम, तेह्रथुम र सुनसरीमा भएका दुर्घटनामा बालबालिकासमेत घाइते भएका छन्। मोरङको विराटनगर महानगरपालिका–१९ कान्तिपुर पेट्रोल पम्प नजिक मोटरसाइकल र स्कुटर ठोक्किँदा विराटनगर–१९ का ५७ वर्षीय देउकुमार खत्री घाइते भएका छन्। त्यस्तै, मोरङकै बुढीगंगा गाउँपालिका–३ बाँसबारीमा विद्यालयको बसले ठक्कर दिँदा दुई वर्षीय गोविन्दकुमार शर्मा घाइते भएका छन्।
तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ सुर्खेमा मोटरसाइकल र अटो ठोक्किँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा–११ का ३२ वर्षीय फडिन्द्र कार्की, पछाडि सवार ५५ वर्षीया धनकुमारी लिम्बू, अटो चालक तेह्रथुम लालिगुराँस–९ का ५३ वर्षीय विमल खनाल र अटोमा सवार ३५ वर्षीय तुलराम फुयल रहेका छन् । उनीहरूलाई म्याङ्लुङमा उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ।
इलामको माङसेबुङ गाउँपालिका–२ तिखे गोलाईमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा १९ वर्षीय मिकल खड्का र २४ वर्षीय धर्मेन्द्र राईको अवस्था गम्भीर रहेको छ भने ३२ वर्षीय जीवन लोकान्त्री सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकलका चालकले मादक पदार्थ सेवन गरेका थिए।
यसैगरी, झापाको दमक–४ मा स्कुटरको ठक्करबाट आठ वर्षीय अभिन शेर्मा घाइते भएका छन् भने बिर्तामोडमा विद्यालयको बसले ठक्कर दिँदा ५४ वर्षीय सोम सोरेन घाइते भएका छन्।
मोरङको केराबारी–९ मा दुई मोटरसाइकल ठोक्किँदा दुई जना, रतुवामाईमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई महिला र एक पुरुष तथा सुनसरीको देवानगञ्जमा मारुति भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुष र एक महिला घाइते भएका छन्।
त्यस्तै, इलामको इलाम नगरपालिका–१ नेपालटारमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २९ वर्षीय संगम राई घाइते भएका छन्। मोरङको ग्रामथानमा साइकलबाट लडेर सात वर्षीय लेखराज सरदार र कटहरीमा साइकलबाटै लडेर २९ वर्षीय राजेश राय घाइते भएका छन्।
प्रहरीका अनुसार ती दुर्घटनाका प्रमुख कारण तीव्र गति, चालकको लापरबाही, लेन अनुशासन उल्लंघन, गलत ओभरटेक, मादक पदार्थ सेवन तथा सडकको घुम्ती रहेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।