दिल्लीमा बन्धक बनाइएका मोरङ र धनकुटाका तीन जनाको उद्धार

Share this
829shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार ११:०३

विराटनगर । आकर्षक वैदेशिक रोजगारीको सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा भारतको नयाँ दिल्लीस्थित होटलमा ४५ दिनदेखि बन्धक बनाइएका तीन नेपालीको उद्धारपछि पारिवारिक पुनर्मिलन भएको छ ।

सर्बिया पठाइदिने प्रलोभन देखाएर दिल्लीको एक होटलमा बन्धक बनाइएका उनीहरूलाई सामाजिक संस्था ‘किन इन्डिया’ ले उद्धार गरेको थियो । संस्थाका प्रतिनिधि महिन्द्र भट्टराईका अनुसार कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाको समन्वयमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ र एक जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामार्फत परिवारको जिम्मा लगाइएको हो ।

वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने आश्वासन दिएर अवैध मानव ओसारपसारमा संलग्न समूहले उनीहरूलाई दिल्ली पुर्‍याएको थियो । घटनाबारे जानकारी पाएपछि सम्बन्धित निकायसँग समन्वय गरी उद्धारका लागि पहल गरिएको ‘किन इन्डिया’ का निर्देशक नवीन जोशीले बताए ।

‘किन इन्डिया’ का ग्लोबल संयोजक इन्द्रराज भट्टराईका अनुसार नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो, नेपाली राजदूतावास, नयाँदिल्ली र दिल्ली प्रहरीको समन्वयमा तीनै जनालाई बन्धक अवस्थाबाट सकुशल उद्धार गरिएको हो। भारतमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनीहरूलाई नेपाल ल्याइएको उनले बताए ।

आकर्षक रोजगारीको प्रलोभनमा नेपाली नागरिकलाई विभिन्न मुलुकमा पुर्‍याएर शोषण तथा बेचबिखनको जोखिममा पार्ने घटना बढिरहेको भन्दै भट्टराईले सचेत रहन आग्रह गरेका छन् । यस्ता घटना रोक्न राज्यका सबै निकाय थप सचेत र जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.