
जनकपुरधाम । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले निर्धारण गरेको समयसीमाभित्र नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउने गरी आवश्यक तयारी अघि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छन् ।
भूमि समस्या समाधान समितिको कार्यप्रगति तथा नापी र मालपोत सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने तयारीबारे जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजित छलफलमा मन्त्री रावलले सरकारको प्राथमिकताअनुसार कामलाई तीव्रता दिन निर्देशन दिएकी हुन् ।
उनले एक महिनाभित्रै नापी र मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै सोहीअनुसार आवश्यक जनशक्ति, पूर्वाधार र व्यवस्थापकीय तयारी गर्न कर्मचारीलाई आग्रह गरिन् । सामान्य कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने नागरिकको बाध्यता अन्त्य गरी स्थानीय तहमै सहज रूपमा सेवा पाउने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
मन्त्री रावलले दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई निर्धारित समयभित्र जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्ने गरी काम गर्न भूमि समस्या समाधान समितिलाई निर्देशन दिइन् ।
भूमिसम्बन्धी समस्या समाधान गर्दा वास्तविक लाभग्राहीको पहिचान गरी निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै उनले कुनै पनि बहानामा सेवा प्रवाहमा ढिलासुस्ती नगर्न आग्रह गरिन् ।

























