
विराटनगर । जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना सम्पन्न भई नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ। करिब २ अर्ब २९ करोड जापानी येन लागतमा निर्माण भएको यस आयोजनाबाट विराटनगरका करिब ९३ हजार नागरिकले स्वच्छ तथा सुरक्षित खानेपानी पाउने भएका छन्।
आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले परियोजनाले नगरको खानेपानी समस्याको दीर्घकालीन समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार आयोजनाबाट महानगरपालिकाका १५ वटा वडाका करिब एक लाख नागरिक लाभान्वित हुनेछन्। उनले खानेपानीको समस्या पूर्ण रूपमा समाधान गर्न बाँकी वडालाई समेत समेटेर दोस्रो चरणको आयोजना सञ्चालन गर्न जापान सरकारसँग आग्रह गरे।
नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइरहेका बेला विराटनगर खानेपानी सुधार आयोजना सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए । जापान लामो समयदेखि नेपालको विकास साझेदार रहँदै आएको उल्लेख गर्दै उनले मेलम्ची खानेपानी र पोखरा खानेपानी सुधार आयोजनामा समेत जापानले सहयोग गरेको स्मरण गरे। विराटनगरमा अर्को महत्त्वपूर्ण खानेपानी आयोजना सम्पन्न गर्न पाउँदा जापान सरकार गौरवान्वित भएको उनले बताए ।
राजदूत माएदाका अनुसार नेपाल खानेपानी संस्थानले पाइप जडानको काम पूरा गरेपछि आयोजना पूर्ण रूपमा सञ्चालनमा आउनेछ । त्यसपछि विराटनगरको कुल जनसंख्याको करिब ४० प्रतिशत अर्थात् ९३ हजार नागरिकले स्वच्छ तथा सुरक्षित खानेपानीको सुविधा प्राप्त गर्नेछन्। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रतिनिधि इन्डो केइले सुरक्षित र भरपर्दो खानेपानी आपूर्ति जनस्वास्थ्य सुधारसँगै नागरिकको जीवनस्तर उकास्न, आर्थिक गतिविधि विस्तार गर्न र दिगो सहरी विकासका लागि महत्त्वपूर्ण हुने बताए।
नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले आयोजनाले नगरको खानेपानी आपूर्ति प्रणालीमा सुधार ल्याउने विश्वास व्यक्त गर्दै बाँकी वडालाई समेटेर दोस्रो चरणको परियोजना सञ्चालन गर्नुपर्नेमा जोड दिए।
सन् २०२४ जुन २५ मा निर्माण सुरु भएको आयोजना सन् २०२६ अक्टोबर १४ मा सम्पन्न भएको हो। जाइकाको आर्थिक सहयोगमा जापानको एमरएस शिमिजु कर्पोरेसनले नेपाल खानेपानी संस्थानअन्तर्गत आयोजना निर्माण गरेको हो।
आयोजनाअन्तर्गत विराटनगरमा ५६ दशमलव २६ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ। ¥यापिड स्यान्ड फिल्टर प्रविधिमा आधारित चारवटा खानेपानी प्रशोधन केन्द्र, चारवटा पानी भण्डारण ट्यांकी, तिनसँग सम्बन्धित पम्प भवन, एउटा ओभरहेड पानी ट्यांकी र एउटा प्रशासनिक भवन निर्माण गरिएको छ। साथै, एक हजार १९८ घरधुरीमा खानेपानीका धारा जडान गरिएको छ।
आयोजनाको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नेपाल खानेपानी संस्थानले लिनेछ। नयाँ संरचना र विस्तारित पाइपलाइनले विराटनगरको खानेपानी वितरण प्रणालीलाई थप व्यवस्थित र भरपर्दो बनाउने तथा स्वच्छ खानेपानीमा नागरिकको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।

























