
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक रूपले अत्यन्त संवेदनशील र प्रतिस्पर्धात्मक मानिएका झापा क्षेत्र नम्बर ५ र सर्लाही क्षेत्र नम्बर ४ अहिले सुरक्षा निकायको विशेष निगरानीमा परेका छन् ।
ती दुई क्षेत्रमा हेभिवेट उम्मेदवारबीचको प्रत्यक्ष प्रतिस्पर्धा, शीर्ष नेतृत्वको प्रतिष्ठासँग गाँसिएको चुनावी परिणाम र अघिल्ला राजनीतिक गतिविधिको पृष्ठभूमिका कारण सम्भावित सुरक्षा चुनौतीको आकलन गर्दै नेपाल प्रहरीले विशेष सुरक्षा रणनीति लागू गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार ती क्षेत्रमा सामान्य सुरक्षा व्यवस्थाभन्दा फरक ढंगले उच्च सतर्कता अपनाइएको छ ।
चुनावी प्रक्रियामा कुनै अवरोध नआओस्, मतदातामा भय नफैलियोस् र उम्मेदवार तथा कार्यकर्ताबीच सम्भावित तनाव नियन्त्रणमा रहोस् भन्ने उद्देश्यले अतिरिक्त प्रहरी बल परिचालन गरिएको छ । सादा पोसाकमा समेत प्रहरी परिचालन गरी सूचना संकलनको काम तीव्र बनाइएको छ ।
प्रहरी स्रोतका अनुसार झापा–५ र सर्लाही–४ लाई ‘उच्च सुरक्षा जोखिम’को श्रेणीमा राखिएको छ । नेपाल प्रहरीको निर्वाचन सुरक्षा विश्लेषण महाशाखाले पछिल्लो अवस्था, राजनीतिक गतिविधि, उम्मेदवारबीचको प्रतिस्पर्धा र सम्भावित चलखेलको अध्ययन गरी प्रहरी महानिरीक्षकलाई विस्तृत ब्रिफिङ गरेको थियो ।
त्यसपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आइतबार भर्चुअल माध्यमबाट मातहतका सबै युनिटलाई विशेष निर्देशन दिएका थिए । उनले ती क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन उच्च स्तरको समन्वय, सूचना प्रवाह र सक्रिय गस्तीलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।
झापामा मात्रै थप २२ जना सिनियर प्रहरी अधिकृत परिचालन गरिएको छ । अन्य दर्जाका ७५५ जना प्रहरी थपिँदा त्यहाँ नेपाल प्रहरीका मात्रै ७७८ जना अतिरिक्त जनशक्ति खटिएका छन् । योबाहेक निर्वाचन केन्द्रित प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र निर्वाचन प्रहरी तथा नेपाली सेनाको टोलीसमेत प्रहरी समन्वयमै परिचालन भइरहेको छ । यसले झापामा बहुस्तरीय सुरक्षा घेरा तयार भएको देखिन्छ ।
त्यस्तै, सर्लाहीमा पनि सुरक्षा व्यवस्थालाई उस्तै प्राथमिकता दिइएको छ । त्यहाँ २५ जना सिनियर प्रहरी अधिकृत, ११९ जना जुनियर प्रहरी अधिकृत र ६४८ जना अन्य दर्जाका प्रहरी गरी नेपाल प्रहरीका मात्रै ७९२ जना अतिरिक्त जनशक्ति खटाइएको छ । यसबाहेक सशस्त्र प्रहरी बल, निर्वाचन सुरक्षामा केन्द्रित विशेष टोली र आवश्यक परे नेपाली सेनाको समेत सहकार्य रहने गरी संरचना तयार पारिएको छ ।
प्रहरीले विशेषगरी दुई पक्षबीचको प्रत्यक्ष प्रतिस्पर्धा, शीर्ष तहको प्रतिष्ठासँग जोडिएको चुनावी परिणाम र मौन अवधिमा हुन सक्ने चलखेललाई ध्यानमा राखेर रणनीति बनाएको जनाएको छ । मौन अवधिमा मतदाता प्रभावित पार्ने प्रयास, आर्थिक चलखेल, समूहगत प्रदर्शन वा अप्रिय घटनाको सम्भावनालाई शून्यमा झार्ने उद्देश्यले गस्ती, निगरानी र सूचना संकलनलाई तीव्र बनाइएको छ ।
सादा पोसाकमा खटाइएका प्रहरीलाई स्थानीयस्तरका गतिविधि, उम्मेदवारका कार्यक्रम, कार्यकर्ताबीचको संवाद र सम्भावित उक्साहटसम्बन्धी सूचनामा विशेष ध्यान दिन भनिएको छ । कुनै पनि सानो संकेतलाई बेवास्ता नगरी तत्काल माथिल्लो तहमा रिपोर्ट गर्न निर्देशन दिइएको स्रोतको भनाइ छ । यसले सुरक्षा संयन्त्रले पूर्वतयारीमै जोड दिएको स्पष्ट हुन्छ ।
प्रहरीका अनुसार हालसम्म ती क्षेत्रमा प्रत्यक्ष सुरक्षा चुनौती देखा परेको छैन । तर, जोखिमको पूर्वआकलन गर्दै ‘प्रिभेन्टिभ अप्रोच’ अपनाइएको हो । ‘घटना भएपछि नियन्त्रण गर्नु भन्दा घटना हुन नदिनु हाम्रो प्राथमिकता हो,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘त्यसैले संवेदनशील क्षेत्रहरूमा अतिरिक्त फोर्स र निगरानी दुवै बढाइएको छ ।’
निर्वाचनको निष्पक्षता र विश्वसनीयता कायम राख्न सुरक्षा निकायले राजनीतिक दल, उम्मेदवार र स्थानीय प्रशासनसँग समेत समन्वय बढाएको छ । मतदान केन्द्र वरपरको सुरक्षा घेरा, मतपेटिका ढुवानी, मतगणना स्थलको सुरक्षा र नतिजा सार्वजनिक हुने चरणसम्मको योजना तयार गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले देशभर निर्वाचन सुरक्षालाई प्राथमिकतामा राखेको भए पनि झापा–५ र सर्लाही–४ लाई विशेष निगरानी सूचीमा राखिएको छ । कडा सतर्कता, निरन्तर गस्ती र सक्रिय सूचना संकलनका कारण कुनै पनि अप्रिय घटना हुन नदिई शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न सकिने विश्वास सुरक्षा निकायको छ ।
चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा सुरक्षा व्यवस्थासमेत त्यति नै कडा बनाइएको छ । झापा र सर्लाही अहिले राजनीतिक मात्र नभएर सुरक्षा व्यवस्थापनका दृष्टिले पनि देशकै सबैभन्दा चासोका क्षेत्र बनेका छन् ।
























