
काठमाडौं। भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले फागुन २१ गते सम्पन्न निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई दिएका हुन्।
‘नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ,’ भुटानी प्रधानमन्त्रीले लेखेका छन्, ‘म सफल चुनावका लागि नेपाली जनतालाई पनि बधाई दिन्छु।’ प्रधानमन्त्री तोब्गेले नेपालमा नयाँ बन्ने आगामी सरकारसँग भुटानको न्यानो मित्रतालाई अझ गहिरो र मजबुत बनाउन आफू तत्पर रहेको समेत उल्लेख गरेका छन्।
नेपालमा भएको यो चुनावी परिणामलाई लिएर छिमेकी मुलुकका सरकार प्रमुखबाट आएको यो पहिलो औपचारिक शुभकामना सन्देशमध्येको एक हो। यसले नेपालको बदलिँदो राजनीतिक परिदृश्यलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकबाट नियालिरहेको सङ्केत गर्दछ।
























