
इनरुवा। सुनसरीको हरिनगरा गाउँपालिका-३ स्थित भित्री सडकखण्डबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागू औषध गाँजा बरामद गरेको छ।
बुधबार राति ११:१० बजेतिर गौतमपुरबाट हरिनगरातर्फ जाँदै गरेको प्र.१-०२-००४ ह ५६३९ नम्बरको सिटी सफारीबाट २१७ किलोग्राम गाँजा बरामद गरिएको हो।
प्रहरी चौकी भुटाहाबाट खटिएको गस्ती टोलीले शंका लागेर सफारीलाई रोक्न खोज्दा चालकले नरोकी भगाएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय हरिनगरा, प्रहरी चौकी भुटाहा र अस्थायी प्रहरी चौकी गौतमपुरको संयुक्त टोलीले पिछा गर्ने क्रममा वडा कार्यालय नजिकै सफारी छाडेर चालक फरार भएका हुन्।
प्रहरीले बेवारिसे अवस्थामा भेटिएको उक्त सिटी सफारीभित्र रातो त्रिपालले छोपिएको ८ वटा प्लास्टिकको बोरामा २१७ किलो गाँजा फेला पारेको बताएको छ।
बरामद गरिएको गाँजा र सफारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ। फरार चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
























