
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा हालसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेको छ। आइतबार वनस्थलीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले मन्त्री चयनका विषयमा पार्टीभित्र कुनै औपचारिक छलफल वा कसैलाई जिम्मेवारी दिने निर्णय नभएको बताए।
प्रवक्ता झाले सांसदहरूले निर्वाचन आयोगबाट प्रमाणपत्र बुझेर शपथ ग्रहण गरेपछि मात्रै सरकार गठन र मन्त्री चयनको प्रक्रिया सुरु हुने जानकारी दिए। रास्वपा नेतृत्वको सरकारमा को-को मन्त्री बन्छन् भन्ने सर्वसाधारणमा चासो हुनु स्वाभाविक भए पनि अहिले नै मन्त्रालयगत दाबी गर्नु राजनीतिक रूपमा व्यावहारिक नहुने उनको तर्क छ।
पार्टीले जनताको मतको कदर गर्दै रणनीतिक राजनीतिक प्रक्रियाहरू अघि बढाउने र उपयुक्त समयमा मात्रै जिम्मेवारीको विषयमा निर्णय लिने उनले स्पष्ट पारे। अहिले पार्टीको ध्यान समानुपातिक सांसदको सूची टुङ्ग्याउने र कानुनी प्रक्रिया पूरा गर्नेतर्फ केन्द्रित रहेको उनले बताए।
























