
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिट ‘हेर्दाहेर्दै’ मा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा आइतबारदेखि जारी बहस मंगलबार पनि नसकिएपछि बिहीबारका लागि सारिएको हो ।
एक जना अधिवक्ताको जवाफी बहस बाँकी रहेकाले उक्त रिटलाई बिहीबार सुनुवाइ हुने गरी राखिएको सर्वोच्च अदालतले जनाएको छ । बिहीबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जवाफी बहस गरेपछि यस विषयमा अदालतको फैसला वा आदेश आउने सम्भावना छ ।
मंगलबारको बहसमा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमनकुमार श्रेष्ठ तथा अधिवक्ताहरू दीपेन्द्र झा र नारायणदत्त कँडेल लगायतले प्रतिरक्षा गरेका थिए । लामिछानेका वकिलहरूको बहसपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतले जवाफी बहस गर्दै महान्यायाधिवक्ताले आफ्नो कानुनी अधिकारको दुरुपयोग गरी गम्भीर मुद्दा फिर्ता लिन खोजेको तर्क गरे । उनीहरूले अभियोगपत्र संशोधन गर्ने निर्णय बदर गरी रिट जारी हुनुपर्ने माग गरेका छन् ।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन् । सोही निर्देशनका आधारमा कास्की र रुपन्देहीमा निवेदन पेस भए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले सुनुवाइ रोकिएको छ । काठमाडौँ र पर्सामा भने हालसम्म यस्तो निवेदन दिइएको छैन ।
























