
काठमाडौंं । निर्वाचनको नतिजा सार्वजनिक भइसके पनि नयाँ सरकार गठन र बालेन्द्र शाहको शपथलाई लिएर आम नागरिकमा निकै चासो र प्रतीक्षा देखिएको छ।
निर्वाचन सम्पन्न भएको दुई साता बितिसक्दा पनि सरकार गठनको प्रक्रिया केही दिन लम्बिने सङ्केत देखिएको छ।
रास्वपा सभापति रवि लामिछाने र बालेन्द्र शाहका पछिल्ला अभिव्यक्तिले सरकार गठनमा अझै केही समय लाग्ने स्पष्ट पारेका छन्।
‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक भिक्टर पौडेलले नयाँ सरकार एक हप्ताभित्र बन्ने आशयको पोस्ट गरेपछि बालेन्द्र शाहले ‘हो र? मलाई पनि भन न यार’ भन्दै टिप्पणी गरेका थिए। यस्तै, सभापति लामिछानेले पनि सांसदहरूको प्रशिक्षणमा क्याबिनेटमा पठाउनेबारे अहिल्यै निर्णय भइनसकेको बताएका छन्।
संसद् सचिवालयले भने चैत १२ गते सांसदहरूलाई शपथ गराउने र बैठक सञ्चालन गर्ने तयारी थालेको छ। सचिवालयका अनुसार शपथपछि मात्र सरकार गठन र सभामुख चयनको प्रक्रिया अघि बढ्नेछ।
विगतमा २०७४ सालमा पहिले प्रधानमन्त्री चयन र २०७९ मा पहिले सांसदको शपथ गराइएका दुवै अभ्यास रहेकाले यसपटक कुन बाटो रोजिन्छ भन्ने कौतुहलता छ।
यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीसँग स्पष्ट बहुमत भएकाले संविधानको धारा ७६ (१) अनुसार एकल सरकार बनाउने बाटो खुला छ। उसलाई अन्य दलसँग गठबन्धन वा मोलमोलाई गर्नुपर्ने बाध्यता छैन।
नेपालको संविधान २०८२ को धारा ७६ अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया टुङ्ग्याउनुपर्ने प्रावधान छ।
निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएपछि मात्रै आधिकारिक रूपमा सरकार गठनको ढोका खुल्नेछ।
आयोगले उक्त प्रतिवेदन बुझाउन बाँकी रहेकाले बालेन्द्र शाहको पहिलो निर्णय र रास्वपाको कार्यशैली हेर्न जनताले अझै केही दिन कुर्नुपर्ने देखिएको छ।
























