
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको औपचारिक प्रक्रिया सकिँदै जाँदा संघीय संसद्को अधिवेशन बोलाउने तयारी तीव्र बनेको छ ।
निर्वाचन आयोगले बिहीबार राष्ट्रपति कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाएसँगै संसद् सञ्चालनतर्फका संवैधानिक र प्रशासनिक प्रक्रिया अघि बढेका हुन् । संसद् सचिवालयले चैत १६ गतेलाई संघीय संसद्को पहिलो बैठक बोलाउने गरी तयारी भइरहेको जनाएको छ ।
त्यसअघि नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रम चैत १२ गतेका लागि तय गरिएको छ । सचिवालयका अनुसार चैत १२ गते बिहान साढे ११ बजे संसदका ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनेछन् भने दिउँसो २ बजे उनीमार्फत अन्य सांसदलाई शपथ गराइनेछ ।
यसै सन्दर्भमा बिहीबार संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको थियो । छलफलमा शपथ कार्यक्रमको व्यवस्थापन, बैठक सञ्चालनको प्रारम्भिक तयारी तथा सम्भावित कार्यसूचीबारे सहमति जुटाउने प्रयास भएको छ ।
शपथपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । चैत १३, १४ र १५ गते सरकार गठनसँग सम्बन्धित राजनीतिक परामर्श, दाबी–प्रस्तुति र अन्य औपचारिक प्रक्रिया हुनेछन् । त्यसपछि चैत १६ गते संसद्को पहिलो बैठक बस्ने गरी तयारी गरिएको हो ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शपथग्रहण सम्पन्न भएपछि राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान हुनेछ । राजनीतिक दलहरूबीच भएको सर्वदलीय छलफलमा पनि यही कार्यतालिकाका बारेमा जानकारी गराइएको थियो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले शपथपछि तुरुन्तै सरकार गठन र त्यसपछि संसद् बैठक बोलाउने विषयमा ब्रिफिङ भएको जानकारी दिए । उनका अनुसार चैत १६ गते बैठक राख्ने प्रस्तावमा सकारात्मक छलफल भएकाले त्यसअनुसार सचिवालयले आन्तरिक तयारी अघि बढाएको हो ।
पहिलो बैठकको कार्यसूचीबारे समेत प्रारम्भिक छलफल भइसकेको छ । अभ्यासअनुसार उक्त बैठकमा राष्ट्रपतिबाट आएको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाइनेछ । साथै, सरकारबाट प्राप्त आवश्यक पत्रहरू प्रस्तुत गरिनेछन् । दलका नेताहरूलाई शुभकामना मन्तव्य राख्न समय दिने परम्परालाई पनि निरन्तरता दिने तयारी छ ।
यससँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको औपचारिक सुरुवात एकैसाथ हुने देखिएको छ । निर्वाचनपछिको राजनीतिक संक्रमणलाई संस्थागत प्रक्रियामा रूपान्तरण गर्ने दिशामा अबका केही दिन महत्वपूर्ण रहनेछन् ।
























