सांकेतिक फोटो ।एजेन्सी । पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामावादमा जारी इरान र अमेरिकाबीचको प्रत्यक्ष वार्ता दोस्रो दिन आइतबार पनि निष्कर्षविहीन रूपमा लम्बिएको छ ।
दुई देशका उच्च तहका प्रतिनिधिहरूबीच झण्डै १५ घण्टाभन्दा लामो समयदेखि निरन्तर संवाद भइरहेको भए पनि आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध र क्षेत्रीय सुरक्षाजस्ता महत्त्वपूर्ण एवं संवेदनशील विषयमा सहमति जुट्न सकेको छैन । यो वार्ता अप्रिल ८ देखि लागू गरिएको दुई हप्ते अस्थायी युद्धविरामको पृष्ठभूमिमा सुरु भएको हो ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणपछि चर्किएको तनावले मध्यपूर्व क्षेत्र मात्र नभएर विश्व अर्थतन्त्रसमेत प्रभावित बनेको थियो । यही तनाव कम गर्ने उद्देश्यले पाकिस्तानले मध्यस्थता गर्दै दुवै देशलाई वार्ताको टेबलमा ल्याएको हो ।
वार्तास्थल इस्लामावादस्थित सेरेना होटलमा शनिबार रातिदेखि नै प्राविधिक र राजनीतिक तहमा गहन छलफल जारी छ । दुवै पक्षका विज्ञ टोलीहरूले सुरक्षा, आणविक नीति, आर्थिक प्रतिबन्ध, कानुनी ढाँचा तथा सैन्य गतिविधिबारे विस्तृत बहस गरेका छन् । छलफलका क्रममा लिखित प्रस्ताव र मस्यौदाहरू आदानप्रदान गरिएको भए पनि मुख्य मुद्दाहरूमा दृष्टिकोण अझै टकरावमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विशेषगरी इरानको आणविक कार्यक्रमका बारेमा अमेरिकाले कडा निगरानी र सीमितीकरणको माग राखेको छ भने इरानले आफ्नो सार्वभौम अधिकारभित्र पर्ने भन्दै यसमा सम्झौता नगर्ने संकेत दिएको छ । त्यस्तै, अमेरिकाद्वारा लगाइएका आर्थिक प्रतिबन्ध हटाउने विषयमा पनि स्पष्ट सहमति बन्न सकेको छैन । इरानले आफ्नो रोक्का गरिएको सम्पत्ति फुकुवा गर्नुपर्ने अडान राखेको छ भने अमेरिकाले त्यसलाई अन्य सुरक्षा सर्तहरूसँग जोडेको छ ।
क्षेत्रीय द्वन्द्व पनि वार्ताको अर्को जटिल पक्ष बनेको छ । इरानले लेबनानमा इजरायलले जारी राखेको आक्रमण तत्काल रोक्नुपर्ने माग गर्दै आएको छ । उसले इजरायल र अमेरिकाको नीतिगत समन्वयलाई जोड्दै वार्ता असफल भए त्यसको जिम्मेवारी दुवै देशले लिनुपर्ने चेतावनी दिएको छ ।
यो वार्ता सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि पहिलो पटक यति उच्च तहमा भएको प्रत्यक्ष संवाद हो । चार दशकभन्दा बढी समयदेखि तनावपूर्ण सम्बन्धमा रहेका यी दुई देशबीचको यस्तो आमनेसामने वार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।
अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् । उनको साथमा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर तथा मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकफ सहभागी छन् । इरानी पक्षको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन् भने विदेशमन्त्री अब्बास अराघची लगायतका उच्च अधिकारीहरू टोलीमा छन् ।
यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियनले वार्ताबारे आफ्नो धारणा सार्वजनिक गर्दै देशको हितमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत उनले इरानी प्रतिनिधिमण्डलले राष्ट्रिय हितको रक्षा गर्दै साहसपूर्वक वार्ता गरिरहेको उल्लेख गरेका छन् । वार्ताको नतिजा जस्तोसुकै भए पनि सरकार जनताको पक्षमा दृढ रहने उनको भनाइ छ ।
वार्तासँगै युद्धका पीडादायक घटनाहरू पनि पुनः चर्चामा आएका छन् । इस्लामावाद पुगेपछि गालिबाफले फेब्रुअरी २८ मा इरानी सहर मिनाबस्थित एक विद्यालयमा भएको आक्रमणको स्मरण गर्दै मार्मिक तस्बिर सार्वजनिक गरेका थिए । उक्त आक्रमणमा १६८ जनाले ज्यान गुमाएका थिए । जसमा बालबालिका र शिक्षकहरू थिए । इरानले यसको दोष अमेरिका र इजरायलमाथि लगाउँदै आएको छ भने अमेरिकाले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।
वार्ता सुरु हुनुअघि राष्ट्रपति ट्रम्पले शान्ति सम्झौता नभए पुनः कडा सैन्य कदम चाल्न सकिने चेतावनी दिएका थिए । उपराष्ट्रपति भान्सले पनि सकारात्मक परिणामको अपेक्षा गरे पनि इरानले वार्तालाई रणनीतिक खेलको रूपमा प्रयोग नगर्नुपर्ने बताएका छन् ।
यसबीच, मध्यपूर्वमा शान्ति प्रयासलाई थप अगाडि बढाउने अर्को पहलस्वरूप अप्रिल १४ मा अमेरिका मै लेबनान र इजरायलबीच छुट्टै युद्धविराम वार्ता सुरु गर्ने तयारी गरिएको छ । इरान–अमेरिका वार्ताको आगामी चरण भने आइतबारको विश्रामपछि पुनः सुरु हुने जनाइएको छ ।
हालसम्मको अवस्थाले दुवै पक्ष वार्ताबाट पछि हट्ने अवस्थामा नदेखिए पनि गम्भीर मतभेदका कारण तत्काल ठोस सहमति हुने सम्भावना कमजोर देखिएको छ । तर, लामो समयपछि सुरु भएको प्रत्यक्ष संवादले भविष्यमा सम्भावित कूटनीतिक समाधानको ढोका भने खुला राखेको विश्लेषण गरिएको छ ।



















