
तेहरान । इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी इजरायली हवाई आक्रमणमा गम्भीर रूपमा घाइते भएपछि यतिबेला सार्वजनिक जीवनबाट पूर्ण रूपमा टाढा रहँदै आएका छन् ।
अनुहार र खुट्टामा गम्भीर चोट लागेका उनी शारीरिक रूपमा अशक्त अवस्थामा भए पनि राज्यका महत्वपूर्ण निर्णय प्रक्रियामा भने अझै सक्रिय रहेको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ५६ वर्षीय खामेनी इजरायलको आक्रमण परेर घाइते भएका थिए ।
अनुहार र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । केही अमेरिकी गुप्तचर निकायहरूले त उनको एउटा खुट्टा नै गुमेको हुन सक्ने अनुमान समेत गरेका छन् । यद्यपि, यसबारे कुनै आधिकारिक पुष्टि सार्वजनिक गरिएको छैन ।
गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले सुरु गरेको युद्धको पहिलो दिनमै उनीमाथि आक्रमण भएको बताइएको छ । सोही दिन तेहरानस्थित सर्वोच्च नेताको निवासमा गरिएको बमबारीमा तत्कालीन सर्वोच्च नेता एवं उनका बुवा आयतोल्लाह अली खामेनी मारिएका थिए । उक्त आक्रमणमा मोजतबा खामेनीकी श्रीमती, जेठान, सालीसहित उनका परिवारका धेरै सदस्यको समेत ज्यान गएको बताइएको छ ।
बुवाको निधनपछि गत मार्च ८ मा मोजतबालाई इरानको नयाँ सर्वोच्च नेता घोषणा गरिएको थियो । तर, नियुक्तिपछि अहिलेसम्म उनको कुनै फोटो, भिडियो वा अडियो सार्वजनिक गरिएको छैन । इरानी सरकारी सञ्चारमाध्यमहरूले उनलाई ‘युद्धमा गम्भीर घाइते भएका नेता’का रूपमा मात्र चित्रण गरेका छन् । तर, विस्तृत स्वास्थ्य अवस्था सार्वजनिक भएको छैन ।
स्रोतहरूका अनुसार शारीरिक रूपमा निकै कमजोर अवस्थामा रहेका खामेनी मानसिक रूपमा भने सक्रिय छन् । उनले अडियो कन्फरेन्सिङमार्फत उच्चस्तरीय सरकारी बैठकहरूमा सहभागी भएर रणनीतिक निर्णयहरूमा निर्देशन दिने काम गरिरहेका छन् । विशेषगरी इस्लामावादमा भइरहेको अमेरिका–इरान शान्ति वार्ता तथा युद्धसँग सम्बन्धित रणनीतिमा उनको प्रत्यक्ष संलग्नता रहेको दाबी गरिएको छ ।
उनको अनुहारमा गम्भीर क्षति पुगेको र स्वतन्त्र रूपमा हिँडडुल गर्न नसक्ने अवस्थाका कारण सार्वजनिक रूपमा नदेखाइएको बताइन्छ । सुरक्षा जोखिमलाई समेत ध्यानमा राख्दै इरानी प्रशासनले उनको उपस्थितिलाई पूर्ण रूपमा गोप्य राखेको स्रोतहरूको भनाइ छ ।
यद्यपि, स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएमा आगामी एकदेखि दुई महिनाभित्र उनको तस्बिर वा भिडियो सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ । त्यसो भएमा मात्रै खामेनीको वास्तविक स्वास्थ्य र क्षतिको अवस्थाका बारेमा स्पष्ट हुनेछ ।
हालसम्म भने उनी जीवित रहेको, निर्णय प्रक्रियामा सक्रिय रहेको र देशको सर्वोच्च नेतृत्व सम्हालिरहेको दाबी मात्रै गरिएको छ । त्योबाहेक अन्य कुनै प्रमाण सार्वजनिक नभएकाले उनको अवस्थाका बारेमा अन्तर्राष्ट्रिय स्तरमै चासो र जिज्ञासा बढ्दै गएको छ ।



















