वार्ता विफल भएपछि अमेरिका र इरानबीचको तनाव सतहमा, कसको कस्तो प्रक्रिया ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २९, आइतबार १२:३१

एजेन्सी । पाकिस्तानको इस्लामावादमा करिब २१ घण्टासम्म चलेको उच्चस्तरीय वार्ता निष्कर्षविहीन बनेपछि अमेरिका र इरानबीचको तनाव झन् सतहमा आएको छ ।

दशकौँदेखि अविश्वास र द्वन्द्वको इतिहास बोकेका यी दुई देशबीचको वार्तालाई पछिल्लो समयकै सबैभन्दा महत्वपूर्ण प्रयासका रूपमा हेरिएको थियो । तर, अन्ततः कुनै सहमति बिना नै टुंगिएको छ ।

Advertisement

वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले राखेका प्रमुख सर्तहरू इरानले अस्वीकार गरेको बताए । उनका अनुसार अमेरिकाले इरानबाट परमाणु हतियार विकास नगर्ने स्पष्ट र ठोस प्रतिबद्धता खोजेको थियो । तर, तेहरान त्यसमा सहमत हुन तयार देखिएन । उनले सहमति नहुनु इरानका लागि अझ नकारात्मक परिणाम ल्याउने संकेत पनि गरे ।

यो वार्तालाई १९७९ को इस्लामिक क्रान्तिपछि अमेरिका र इरानबीच भएको सबैभन्दा उच्च तहको प्रत्यक्ष संवाद मानिएको थियो । त्यसैले पनि अन्तर्राष्ट्रिय समुदायले यसलाई चासोपूर्वक हेरिरहेको थियो । तर, प्रारम्भिक चरणमै सहमति हुन नसक्नुले आगामी दिनमा वार्ता अझ जटिल बन्ने संकेत देखिएको छ ।

उता, इरानले भने एकै चरणमा सम्झौता हुने अपेक्षा गर्नु नै अव्यावहारिक भएको प्रतिक्रिया दिएको छ । इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघाएईले वार्ता प्रक्रिया दीर्घकालीन हुने र क्रमिक रूपमा अघि बढ्ने बताएका छन् । उनले तेहरानले क्षेत्रीय साझेदारहरूसँग सहकार्य जारी राख्ने पनि स्पष्ट पारे ।

यसबीच वार्ताको आयोजक र मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । पाकिस्तानका विदेशमन्त्री इशाक डारले युद्धविराम कायम राख्दै दीर्घकालीन शान्ति प्रक्रियातर्फ अग्रसर हुन दुवै देशलाई आह्वान गरेका छन् । उनले पाकिस्तानले गरेको मध्यस्थता प्रयासलाई दुवै पक्षले सराहना गरेको पनि बताए ।

यस वार्ताको पृष्ठभूमिमा मध्यपूर्वमा जारी द्वन्द्व मुख्य कारणका रूपमा रहेको छ । अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको सैन्य कारबाहीपछि क्षेत्रीय तनाव चुलिएको थियो । त्यसको जवाफमा इरानले खाडी क्षेत्रका अमेरिकी र इजरायली स्वार्थसँग जोडिएका स्थानहरूमा प्रतिआक्रमण गरेको थियो । यसले हजारौँको ज्यान गएको र ठूलो भौतिक क्षति भएको बताइएको छ ।

युद्धका कारण विश्व अर्थतन्त्रमा समेत असर परेको छ । विशेषगरी हर्मुज जलडमरू मार्गमा इरानले नियन्त्रण कडाइ गरेपछि विश्व ऊर्जा आपूर्तिमा अवरोध सिर्जना भएको छ । विश्वको ठूलो हिस्सा तेल तथा ग्यास आपूर्ति यही मार्गबाट हुने भएकाले यसको प्रभाव अन्तर्राष्ट्रिय बजारमा स्पष्ट देखिएको छ ।

इस्लामावाद वार्तामा अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति भान्सले गरेका थिए भने इरानी टोलीको नेतृत्व संसद् सभामुख मोहम्मद बाघेर कालिबाफले गरेका थिए । दुवै पक्षबीच युद्धविरामलाई कसरी दीर्घकालीन बनाउने भन्ने विषयमा छलफल भए पनि ठोस सहमति हुन सकेन ।

यस घटनाक्रमले निकट भविष्यमा अमेरिका–इरान सम्बन्ध सहज हुने सम्भावना कमजोर देखिएको छ । यद्यपि, दुवै पक्षले संवादको ढोका पूर्णरूपमा बन्द नगरेको संकेत दिएका छन् । जसले कूटनीतिक प्रयास अझै जारी रहने आशा भने जीवित राखेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.