अमेरिका–इरान तनाव चर्कियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार १२:२१

एजेन्सी । इरान र अमेरिकाबीच जारी युद्धविराम सकिन लाग्दा दुवै पक्षबीच तनाव तीव्र बन्दै गएको छ ।

कूटनीतिक वार्ताको भविष्य अन्योलमा परेका बेला दुवै देशले सैन्य तयारीको संकेत दिएका छन् । जसले क्षेत्रीय सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको छ । ह्वाइट हाउसका अनुसार उपराष्ट्रपति जेडी भान्स पुनः पाकिस्तान पुगेर वार्ताको दोस्रो चरण अघि बढाउने तयारीमा छन् ।

Advertisement

तर, इरानले अमेरिकी कदमप्रति असन्तुष्टि जनाउँदै वार्तामा सहभागी हुने विषयमा स्पष्ट निर्णय सार्वजनिक गरेको छैन । तेहरानले अमेरिकामाथि आफ्ना बन्दरगाहमा नाकाबन्दी लगाएको र एक जहाज नियन्त्रणमा लिएको आरोप लगाएको छ । इरानका संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले दबाबको अवस्थामा वार्ता अस्वीकार्य हुने बताएका छन् ।

उनका अनुसार इरानले पछिल्ला दिनमा नयाँ सैन्य रणनीति तयारी गरिरहेको छ । यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले होर्मुज जलडमरूमध्य हुँदै अनुमतिबिना पार गर्ने जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानमाथि समुद्री मार्ग अवरुद्ध गरेर युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । उनले युद्धविराम समाप्त भए ठूलो स्तरको आक्रमण हुनसक्ने चेतावनी दिएका छन् । समझदारी नभएसम्म दबाब जारी रहने संकेत गरेका छन् ।

तनावबीच अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य भने घट्दो क्रममा देखिएको छ । होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा आउने आशाले बजार प्रभावित भएको विश्लेषण गरिएको छ । तेहरानमा आंशिक रूपमा जनजीवन सामान्य देखिए पनि आर्थिक दबाब र अनिश्चितता कायम रहेको छ ।

यसैबीच, इजरायल र लेबनानबीच छुट्टै युद्धविराम भए पनि दक्षिणी लेबनानमा छिटपुट हिंसा जारी छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले शान्तिरक्षकको हत्या घटनाको निन्दा गर्दै सम्बन्धित पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.