टुटफुटले कमजोर बन्यो कम्युनिष्ट आन्दोलन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार १०:११

विराटनगर । नेपालको कम्युनिष्ट आन्दोलनले ७७ वर्ष पूरा गरेको छ । २००६ साल वैशाख ९ गते भारतको कोलकातामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज विभिन्न धार, समूह र संगठनमा विभाजित अवस्थामा स्थापना दिवस मनाइरहेको छ ।

इतिहासको लामो यात्रामा सामन्तवाद, शोषण, उत्पीडन र असमानताविरुद्ध लड्ने उद्देश्यसहित सुरु भएको कम्युनिष्ट आन्दोलन अहिलेसम्म आइपुग्दा निरन्तर टुटफुट, आन्तरिक संघर्ष र नेतृत्व विवादको चक्रमा अल्झिएको देखिन्छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठले पार्टी स्थापना गरेका थिए ।

Advertisement

पछि मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी जस्ता नेताहरू पनि यस आन्दोलनसँग जोडिए । राणा शासनको कठोर दमनबीच भूमिगत रूपमा सुरु भएको राजनीतिक शक्ति सुरुमा स्पष्ट वर्ग संघर्ष र सामाजिक रूपान्तरणको लक्ष्यसहित अघि बढेको थियो ।

तर, स्थापना भएको केही दशक नबित्दै पार्टी आन्तरिक मतभेद, वैचारिक विभाजन र रणनीतिक विवादमा फस्न थाल्यो । २०११ सालमा तत्कालीन सरकारद्वारा पार्टीमाथि प्रतिबन्ध लगाइए पनि कम्युनिष्ट आन्दोलन भूमिगत रूपमा सक्रिय रह्यो । २०१५ सालको पहिलो आम निर्वाचनमा चार सिट जितेर संसदीय राजनीतिमा प्रवेश गरेको नेकपा त्यसबेला सानो भए पनि वैचारिक प्रभाव विस्तार गर्न सफल देखिन्थ्यो ।

तर, त्यसपछि सुरु भएको विभाजनको शृङ्खला निरन्तर बढ्दै गयो । पञ्चायती व्यवस्थाको सुरुवातसँगै कम्युनिष्ट आन्दोलन झनै कठोर दमनमा पर्‍यो । यसै क्रममा केशरजंग रायमाझी नेतृत्वको समूहले पञ्चायतलाई समर्थन गरेपछि पार्टीभित्र गहिरो विभाजन आयो । यही विभाजनले कम्युनिष्ट आन्दोलनलाई विभिन्न धारमा टुक्र्याउने आधार तयार गर्‍यो ।

झापामा भएको ‘झापा विद्रोह’ले नयाँ उग्र धार जन्मायो । जसले पछि नेकपा (माले ) त्यसपछि नेकपा (एमाले)को रूप लियो । पुष्पलाल, मनमोहन लगायतको परम्परागत धार पनि पछि एमाले संरचनामा समाहित भयो । २०४७ सालपछि भएको पुनर्गठनले केही समय एकता देखिए पनि त्यो दीर्घकालीन हुन सकेन ।

अर्कोतर्फ मोहनविक्रम सिंह, निर्मल लामा लगायतका नेताहरूले अलगअलग समूह निर्माण गर्दै नेकपा चौम, मोटो मशाल, पातलो मसाल हुँदै माओवादी धार विकास गरे । यी समूहहरू पछि नेकपा एकता केन्द्र हुँदै माओवादी केन्द्रको मूल धारमा रूपान्तरित भए । यसरी कम्युनिष्ट आन्दोलन वैचारिक रूपमा मात्र नभएर संगठनात्मक रूपमा पनि अनेक टुक्रामा विभाजित हुँदै गयो ।

२०४६ सालको जनआन्दोलनपछि तत्कालीन एमाले र माले मिलेर बनेको नेकपा (एमाले) संसदमा शक्तिशाली प्रतिपक्षका रूपमा उदायो । त्यसपछि माओवादीले २०५२ सालमा सशस्त्र जनयुद्ध सुरु गरेपछि नेपालमा कम्युनिष्ट आन्दोलन संसदीय र सशस्त्र दुई धारमा विभाजित भयो । माओवादीले संसदीय राजनीतिबाट अलग भएर राज्यविरुद्ध सशस्त्र संघर्ष थालेपछि राजनीतिक वातावरण अझ जटिल बन्यो ।

२०५१ सालको निर्वाचनमा एमाले पहिलो दल बनेर सरकार गठनसम्म पुग्यो । जुन दक्षिण एसियाकै कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण घटना मानिन्छ । तर, २०५४ सालमा एमाले पुनः विभाजित भएपछि कम्युनिष्ट शक्ति फेरि कमजोर बन्दै गयो । २०५६ सालको निर्वाचनमा दोस्रो दल बनेको एमाले र सशस्त्र संघर्षरत माओवादीबीचको दूरी अझ बढ्दै गयो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बनेर उदाए पनि स्थिर राजनीतिक नेतृत्व दिन सकेन । त्यसपछि २०७० सालको निर्वाचनमा एमाले पुनः दोस्रो र माओवादी तेस्रो दल बने । यसबीच कम्युनिष्ट आन्दोलनभित्र पटकपटक नेतृत्व परिवर्तन, सत्ता संघर्ष र आन्तरिक विवाद देखिँदै गयो ।

नेपालमा यस अवधिमा मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई जस्ता नेताहरू प्रधानमन्त्री बने पनि उनीहरूको नेतृत्वमा पनि पार्टीभित्र स्थायित्व कायम हुन सकेन । २०७४ सालको निर्वाचनमा एमाले र माओवादीले गठबन्धन बनाएर झण्डै दुईतिहाइ बहुमत हासिल गरेपछि कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुने आशा जागेको थियो ।

त्यसपछि २०७५ सालमा दुई पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो । तर, आन्तरिक शक्ति संघर्ष, नेतृत्व विवाद र रणनीतिक मतभेदका कारण यो एकता पनि दीर्घकालीन हुन सकेन । सर्वोच्च अदालतको फैसलापछि नेकपा विघटन भई एमाले र माओवादी पुनः अलग–अलग बने ।

यसपछि एमालेभित्र पनि विभाजन आयो । माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरे । यसरी कम्युनिष्ट आन्दोलन फेरि टुक्रा–टुक्रा भयो ।

हालैका वर्षहरूमा फेरि एकताका प्रयासहरू देखिए । प्रचण्ड नेतृत्वको माओवादी, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसहित केही अन्य कम्युनिष्ट घटकहरू मिलेर नयाँ राजनीतिक संरचना बनाउने प्रयास गरिएको थियो । विभिन्न साना समूहहरू समेत समावेश गर्दै ‘नेपाली कम्युनिष्ट पार्टी’ गठन गरिएको भनिएको छ । जसको संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल रहेका छन् ।

तर, यी सबै एकता प्रयासहरूबीच पनि राजनीतिक स्थायित्व देखिएको छैन । पछिल्ला निर्वाचन परिणामहरूले पनि कम्युनिष्ट दलहरूको जनसमर्थन घट्दै गएको संकेत गरेका छन् । नयाँ राजनीतिक शक्तिहरूको उदयसँगै पुराना कम्युनिष्ट दलहरूको प्रभाव कमजोर बन्दै गएको देखिन्छ । टुटफुटले कम्युनिष्ट आन्दोलन निक्कै कमजोर बन्दै गएको छ ।

हालको राजनीतिक परिस्थितिमा विभिन्न आरोप प्रत्यारोप, अनुसन्धान र विवादहरूले शीर्ष नेताहरू नै प्रश्नको घेरामा परेका छन् भन्ने दाबी पनि सार्वजनिक भइरहेका छन् । यसले कम्युनिष्ट आन्दोलनभित्रको आन्तरिक संकट अझ गहिरिएको संकेत गर्छ ।

कम्युनिष्ट आन्दोलनको ७७ बर्से इतिहास हेर्दा विचार र उद्देश्यको आधार बलियो भए पनि संगठनात्मक एकता कायम राख्न नसक्नु यसको प्रमुख कमजोरी रहेको स्पष्ट हुन्छ । निरन्तरको विभाजन, नेतृत्व केन्द्रित संघर्ष र आन्तरिक अविश्वासले यो आन्दोलनलाई कमजोर बनाउँदै लगेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाइरहँदा कम्युनिष्ट दलहरू एकातिर ऐतिहासिक योगदानको स्मरण गरिरहेका छन् भने अर्कोतिर अस्तित्व रक्षाको चुनौतीसँग जुधिरहेका छन् । नेताहरूले पुनर्गठन र एकताको आह्वान गरे पनि त्यो व्यवहारमा कति रूपान्तरण हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.