‘कमजोरी सच्याएरै पुनः उठ्नुपर्छ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार १६:४०

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलन यतिबेला आत्मसमीक्षाको मोडमा पुगेको सन्देश शीर्ष नेताहरूले दिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले निर्वाचन परिणामपछि उत्पन्न परिस्थितिलाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंस्थित पार्टी मुख्यालय च्यासलमा बुधबार आयोजित कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस कार्यक्रममा बोल्दै प्रचण्डले हालैको निर्वाचन परिणामलाई सामान्य हारका रूपमा नभएर गहिरो सन्देशका रूपमा लिनुपर्ने बताए ।

Advertisement

उनले जनताले नेकपालाई अस्वीकार गरेको नभई ‘सुध्रेर आउ’ भन्ने चेतावनी दिएको तर्क गरे । ‘जनताले हामीलाई घृणा गरेका होइनन्, सबक सिकाएका हुन्,‘ उनले भने, ‘लामो समय सत्तामा रहँदा पार्टीभित्र पनि विकृति र फोहोर जम्मा भएको रहेछ, अब त्यसलाई सफा गर्ने अवसर आएको छ ।’

प्रचण्डले निर्वाचनमा देखिएको कमजोरीको वस्तुगत मूल्यांकन अपरिहार्य भएको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनले अस्थायी धक्का खाए पनि सुधारको बाटो रोजे पुनः सशक्त बन्न सक्ने विश्वास व्यक्त गरे । उनले कम्युनिष्ट पार्टीहरू अन्य दलभन्दा फरक हुने दाबी गर्दै गल्ती स्वीकारेर सच्याउने संस्कार नै यसको शक्ति भएको बताए ।

पार्टीका सहसंयोजक माधव नेपालले देशको समग्र राजनीतिक अवस्था नै अहिले अन्योल र चुनौतीपूर्ण अवस्थामा रहेको टिप्पणी गरे । उनले कम्युनिष्ट आन्दोलन क्रमशः कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै हालको अवस्था गम्भीर समीक्षा माग गर्ने बताए । ‘हामीले अप्रत्याशित धक्का खाएका छौँ । अब खुलस्त रूपमा आफ्ना कमजोरीहरू स्वीकार गरेर अघि बढ्नुपर्छ,’ उनले भने ।

नेपालले हारपछि आत्तिने प्रवृत्तिले भविष्य निर्माण गर्न नसकिने स्पष्ट पार्दै नयाँ ऊर्जा र दृष्टिकोणका साथ पुनः उठ्नुपर्ने आवश्यकता औंल्याए । उनले वर्तमान सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै जनताको अपेक्षा र देशको हितअनुसार शासन सञ्चालन हुन सकेको छ कि छैन भन्ने बहस आवश्यक रहेको बताए ।

उनले वर्तमान चुनौतीबीच पनि सम्भावनाको ढोका बन्द नभएको उल्लेख गर्दै विगतको कम्युनिष्ट आन्दोलनको विरासत सम्झेर आत्मविश्वासका साथ अघि बढ्नुपर्ने धारणा राखे । ‘अहिलेको अवस्था संकटपूर्ण छ, तर भविष्य सम्भावनाले भरिएको छ,’ नेपालले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.