गगन थापाको रणनीतिक सन्देश : कांग्रेसमा युवा आकर्षणदेखि मत फिर्तासम्म

मुलुकी खबर
पवन भण्डारी
clock२०८३ वैशाख ९, बुधबार १८:२५

विराटनगर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई पुनः सशक्त बनाउने मुख्य आधारका रूपमा युवाहरूको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन् ।

कांग्रेस कोशी प्रदेश समितिद्वारा विराटनगरमा बुधबार आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टीभित्र नयाँ पुस्तालाई आकर्षित नगरी संगठनलाई मजबुत बनाउन नसकिने स्पष्ट पारे । थापाले कांग्रेसको इतिहास, विगतका उपलब्धिहरू, सुशासनका प्रयासहरू तथा मुलुकको विकासमा पार्टीले खेलेको भूमिकाका बारेमा युवापुस्तालाई व्यवस्थित रूपमा जानकारी दिनुपर्ने आवश्यकता औंल्याए ।

Advertisement

उनका अनुसार पार्टीप्रति युवाहरूको दुरी बढ्नुको मुख्य कारण राजनीतिक इतिहास र योगदानका बारेमा पर्याप्त जानकारी नहुनु पनि हो । ‘हामीले गरेका काम, सुशासनका प्रयास र देश निर्माणमा कांग्रेसको भूमिकालाई नयाँ पुस्तासम्म पुर्‍याउन सकेनौँ भने संगठन थप कमजोर हुन्छ,’ उनले भने ।

कार्यक्रममा उनले पछिल्लो निर्वाचन परिणामप्रति गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसले करिब १० लाख मत गुमाउनु सामान्य विषय नभएको बताए । थापाले यसलाई हारका रूपमा मात्रै नभएर संगठनभित्रको कमजोरी पहिचान गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखे ।

उनले आगामी दिनमा ती असन्तुष्ट तथा पार्टीबाट टाढिएका मतदातालाई पुनः कांग्रेसतर्फ फर्काउने रणनीति आवश्यक रहेको उल्लेख गर्दै आफू त्यसका लागि जिम्मेवारीपूर्वक अघि बढ्ने दाबी गरे । उनले गुमेको १० लाख मत फिर्ता गराउन लाग्नुपर्ने बताए ।

थापाले स्थानीय तह र प्रदेश तहमा कांग्रेस नेतृत्वमा रहेका सरकारहरूले जनअपेक्षा अनुसार सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । उनका अनुसार सरकारमा रहेर गरिएको कामको प्रत्यक्ष प्रभाव नै आगामी निर्वाचन परिणामसँग जोडिन्छ । ‘जनताको भरोसा कामबाट जितिन्छ । भाषणबाट होइन’ भन्दै उनले पार्टीका सबै तहका नेतृत्वलाई जिम्मेवार बन्न आग्रह गरे ।

उनले कांग्रेसलाई आधुनिक र प्रविधिमैत्री बनाउन क्रियाशील सदस्यहरूको नवीकरण तथा अद्यावधिक प्रक्रिया अघि बढाइएको जानकारी पनि दिए । विशेषगरी सदस्यता प्रणालीलाई डिजिटल बनाउने योजना अघि सारिएको उल्लेख गर्दै थापाले यसले पार्टीको संरचनालाई पारदर्शी र व्यवस्थित बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार ज्येष्ठ सदस्यहरूको ऐतिहासिक योगदानलाई सुरक्षित राख्न डिजिटल अभिलेखीकरणको काम पनि अघि बढाइनेछ ।

थापाले आगामी १५ औं महाधिवेशनलाई पार्टी पुनर्गठनको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए । उनले सबै तह र पुस्तालाई समेटेर कांग्रेसलाई समावेशी संगठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘चार पुस्तालाई एकै ठाउँमा लिएर जाने संगठनात्मक अभ्यास नगरेसम्म हामी बलियो हुन सक्दैनौँ,’ उनको भनाइ थियो ।

कार्यक्रममा उपसभापति पुष्पा भुसालले हालै सम्पन्न निर्वाचनको परिणामबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरिन् । उनले हारलाई अन्त्य नभई सुधारको सुरुवातका रूपमा लिनुपर्ने बताउँदै संगठनलाई अझ सुदृढ बनाउन सबै तहका कार्यकर्ता सक्रिय हुनुपर्ने धारणा राखिन् । भुसालले कांग्रेसको आधार अझै पनि जनस्तरमा बलियो रहेको भन्दै संगठनात्मक कमजोरी सुधार गर्न सके पुनः जनसमर्थन फर्काउन सकिने बताइन् ।

त्यस्तै, महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो बनाउन क्रियाशील सदस्यहरूले घरघरमा पुगेर कांग्रेसका नीति र कार्यक्रमका बारेमा जनतालाई जानकारी दिनुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार संगठन केन्द्र वा नेतृत्वको प्रयासले मात्र नभएर तल्लो तहका कार्यकर्ताको सक्रियताबाट बलियो हुन्छ । उनले सदस्यता प्रणालीलाई डिजिटल रूपमा अद्यावधिक गर्ने कामले पार्टीलाई थप आधुनिक बनाउने विश्वास पनि व्यक्त गरे ।

महामन्त्री गुरुराज घिमिरेले कांग्रेसलाई पुनर्जीवित गर्न वडास्तरदेखि केन्द्रसम्म संरचनागत सुधार आवश्यक रहेको बताए । उनले कांग्रेसले जितेका स्थानीय तहहरूमा भएका राम्रा कामहरूको प्रभावकारी प्रचारप्रसार नहुनु पनि निर्वाचन परिणाम कमजोर हुनुको एक कारण भएको उल्लेख गरे । उनका अनुसार जनताको बीचमा सकारात्मक काम पुर्‍याउन नसक्दा राजनीतिक लाभ लिन नसकिएको हो ।

गोष्ठीमा नेताहरूले हालैको संसदीय निर्वाचनमा कांग्रेसका उम्मेदवारहरू पराजित हुनुका विभिन्न कारणहरूको पनि विश्लेषण गरेका थिए । उनीहरूले पार्टीका केही मत अन्य दलतर्फ जानु, युवा पुस्ताको नयाँ राजनीतिक शक्तिप्रति आकर्षण बढ्नु, सामाजिक सञ्जालको प्रभाव तथा विदेशमा रहेका नेपाली युवाहरूको मत व्यवहारमा परिवर्तन आउनुजस्ता कारणहरूलाई प्रमुख रूपमा औंल्याए । साथै, राजनीतिक प्रचार शैली पुरानो हुनु र नयाँ प्रविधिको प्रभावकारी प्रयोग गर्न नसक्नु पनि पराजयको कारणका रूपमा उल्लेख गरियो ।

नेताहरूका अनुसार पार्टीभित्र आन्तरिक समन्वय कमजोर हुनु, स्थानीय तहमा अपेक्षित जनसम्पर्क नहुनु तथा संगठनात्मक सक्रियता घट्नुले पनि परिणाममा प्रत्यक्ष असर पारेको छ । उनीहरूले अब कांग्रेसले परम्परागत शैलीभन्दा बाहिर निस्केर डिजिटल युगअनुसार संगठनलाई पुनः संरचना गर्नुपर्नेमा जोड दिएका छन् ।

नेताहरूले कांग्रेसलाई पुनः सशक्त बनाउने मुख्य आधार युवाहरू, प्रविधि र संगठनात्मक सुधार नै भएको निष्कर्ष निकालेका छन् । विशेषगरी युवाहरूलाई पार्टीमा आकर्षित गर्न स्पष्ट नीति, अवसर र सहभागितामूलक वातावरण आवश्यक रहेको उनीहरूको साझा धारणा थियो ।

विराटनगरमा आयोजित कांग्रेसको निर्वाचन समीक्षा गोष्ठीले पार्टीभित्र आत्मसमीक्षा, सुधार र पुनर्गठनको बहसलाई थप तीव्र बनाएको छ । अब कांग्रेसले परम्परागत राजनीतिक शैलीबाट बाहिर निस्केर नयाँ पुस्ता, प्रविधि तथा सुशासनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताउँदै नेताहरुले अन्यथा जनसमर्थन पुनः हासिल गर्नु चुनौतीपूर्ण हुने सन्देश दिएका छन् ।

‘सरकार लहडमा चलेको छ’

तपाइको प्रतिक्रिया
नेपथ्यको क्यानडा यात्रा लन्डन कन्सर्ट : दर्शकको उत्साहजनक उपस्थिति
चन्द्रगढी महिला गोल्डकप: १० खेलाडीमा सीमित पुलिस सेमिफाइनलमा
शून्य बाँकी फाइल सप्ताह: फर्छ्योट हुन नसकेका फाइलको विवरण बुझाउन सरकारको आह्वान
मिथ्या सूचना र भ्रम फैलाउनेमाथि कारबाही गर्ने मन्त्रालयको चेतावनी
रुस-युक्रेन युद्धको भुमरीमा नेपाली: ११८ को मृत्यु, सयौँ बेपत्ता र घाइते
सहकारीको बचत फिर्ताका लागि महान्यायाधिवक्ता र सीआईबीसँग छलफल
सम्पत्ति छानबिन आयोगले थाल्यो काम
संसद बैठक वैशाख १७ गतेका लागि आह्वान
मोरङ पथरीशनिश्चरेका रमेश खोलाको डिलमा मृत फेला
मोरङको बुढीगंगामा सीटी सफारीको ठक्करबाट साइकल यात्री वृद्धको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.