
विराटनगर । मोरङको पथरीशनिश्चरे घर भएका एक जना पुरुष रतुवामाई नगरपालिका–१० मौलाबारीस्थित रातेहोली खोलाको डिलमा बुधबार साँझ मृत फेला परेका छन् ।
पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४५ वर्षीय रमेश बस्नेत रातेहोली खोलाको डिलमा साँझ ५ः२० बजेतिर मृत फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी एवं डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार स्थानीयले बस्नेतलाई मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए ।
त्यसलगत्तै घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बस्नेतको मृत्युको कारण खुल्न सकेको छैन । पथरीशनिश्चरे घर भएका बस्नेत कसरी रतुवामाई पुगेर खोलाको डिलमा मृत फेला परे भन्ने पत्ता लगाउन विभिन्न कोणबाट अनुन्धान भइरहेको जानकारी डीएसपी लामिछानेले बताए ।
उनका अनुसार तत्काल हेर्दा घटना शंकास्पद देखिएको छैन । पोस्टमार्टम रिपोर्ट आएर घटनाको अनुसन्धान पूरा भएपछि मृत्युको कारण यकिन हुने लामिछानेले बताए ।

























