
विराटनगर । विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलका ७ विद्यार्थीसहित १० जनाको टोली स्पेन जाने भएको छ । स्पेनको बार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म) हुने युरोप मोडल संयुक्त राष्ट्र संघको सभामा भाग लिन एभरेस्टका विद्यार्थीहरू जाने भएका हुन् ।
संयुक्त राष्ट्र संघको नमुना अभ्यास विद्यालयमा गरेका एभरेस्टका विद्यार्थीहरूले यस अघि भियतनाममा समेत यस्तै सभामा भाग लिएर फर्किएका थिए । त्यस्तै, युरोपियन मोडलको नमुना सभामा भाग लिन नेपालका ४ विद्यालयले सहभागिता जनाउने भएका हुन् । काठमाडौंको अक्षरा, भ्याली पब्लिक र वेदिक विद्यालय तथा विराटनगरको एभरेस्ट स्कुल रहेका छन् ।
अमेरिका, युरोप, क्यानडा, टर्की, भारत र नेपालका गरी २० विद्यालयका विद्यार्थीको सहभागिता हुने उक्त नमुना सभामा नेपालबाट ३५ विद्यार्थीले सहभागिता जनाउने ग्लोबल हेल्प फाउन्डेसनका महासचिव कुँवर दिपांकरले जानकारी दिए । उनका अनुसार ति मध्ये एभरेस्ट स्कुलबाट ७ जना विद्यार्थीले सहभागिता जनाउने छन् । एभरेस्ट स्कुलका भाइस प्रिन्सिपल टी एन भण्डारीका अनुसार सक्षम कर्ण, आन्या कोइराला, सुयम काफ्ले, श्वेश्ना कर्ण, आर्जु सिग्देल, आयुष्मा जयसवाल, प्रेम खतिवडा, गीता ढकालका साथै भाइस प्रिन्सिपल द्वय भण्डारी र कुन्दन पुरी टोलीमा जाने छन् । उनीहरूले बार्सिलोनको सभापछि फ्रान्स, जर्मन, स्विट्जरल्याण्डको पनि अवलोकन भ्रमण गर्ने छन् ।
सभाले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरूको पहिचान र समाधानका लागि विकल्पहरू खोज्न सिकाउने विद्यालयको विश्वास छ । यसले विद्यार्थीहरूको नेतृत्व र व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति नियम बुझ्न र समस्याहरूका विषयमा तार्किक विश्लेषण गर्ने क्षमताको विकास गराउने विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले बताए ।



















