
झापा । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र रेमी परियोजनाको आयोजनामा मेचीनगरमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण सम्बन्धी स्थानीय तह स्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।
मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको सहकार्यमा भएको कार्यक्रमको अध्यक्षता गर्दै महासंघका प्रदेश उपाध्यक्ष ऋषि तिम्सिनाले वैदेशिक रोजगारीबाट फर्केकाको सीप र दक्षता प्रयोग गर्न सके उद्योगहरूको उत्पादन लागत घट्ने बताए । प्रमुख अतिथि मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरभित्रका बेरोजगार तथा वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई स्थानीय उद्योग र होटेलहरूमा रोजगारी दिलाउन नगरपालिकाले समन्वय गरिरहेको जानकारी दिए ।
मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्रीले आफ्नो भेनियर उद्योगमा ६० जना सीपयुक्त जनशक्तिलाई रोजगारी दिन सकिने प्रतिबद्धता जनाए । त्यस्तै, होटेल अस्वथका प्रतिनिधि, भेनियर संघका अध्यक्ष श्याम न्यौपाने र अलैँची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुंगानाले युवाहरूलाई स्वरोजगार बनाउन तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा रेमी परियोजनाका अधिकृत रिता विश्वास र महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले परियोजनाका गतिविधिबारे जानकारी गराए । उद्योगी व्यवसायीहरूको सहभागिता रहेको कार्यक्रममा मेचीनगरका रोजगार परामर्शदाता फडिन्द्र दाहालले वैदेशिक रोजगारीबाट फर्केकाहरूको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।



















