
काठमाडौं । प्रकृतिप्रति गहिरो आस्था र पुर्खाप्रति सम्मान व्यक्त गर्ने किराँत समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व उभौली आज (शुक्रबार) देशभर श्रद्धा, उत्साह र परम्परागत विधिअनुसार मनाइँदै छ ।
वैशाख शुक्ल पूर्णिमाका दिन विशेष रूपमा मनाइने यो पर्व धार्मिक विश्वास मात्र नभएर जीवनशैली, कृषि चक्र र पर्यावरणीय सन्तुलनसँग गाँसिएको हुन्छ । किराँत राई समुदायले मनाउने उभौली पर्वको मूल भाव नै ‘उँभो लाग्ने’ अर्थात् तलतिरको भू–भाग (बेँसी)बाट माथिल्लो भू–भाग (लेक)तर्फ सर्ने परम्परासँग सम्बन्धित छ ।
जाडो समाप्त भई गर्मी सुरु हुने समयसँगै मानिसहरू मात्र नभएर चराचुरुङ्गी, वन्यजन्तु र नदीका माछासमेत चिसो वातावरणको खोजीमा माथिल्लो भू–भागतर्फ सर्ने विश्वास रहेको छ । यही प्राकृतिक चक्रलाई आत्मसात् गर्दै उभौली पर्वको सुरुवात भएको मानिन्छ ।
उभौली धार्मिक अनुष्ठान मात्र नभई कृषि जीवनको प्रारम्भसँग प्रत्यक्ष रूपमा जोडिएको पर्व हो । बाली लगाउने समय सुरु हुनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा पूजा आराधना गरी राम्रो उत्पादन होस्, प्राकृतिक विपत्ति नआओस् र समृद्धि बढोस् भन्ने कामना गरिन्छ । ‘उँभो’ शब्दले उन्नति, प्रगति र समृद्धिको संकेत पनि गर्ने भएकाले यस पर्वलाई सकारात्मक आशा र भविष्यप्रतिको विश्वासको प्रतीकका रूपमा लिइन्छ ।
उभौलीसँगै सांस्कृतिक पक्ष झनै जीवन्त बन्छ । यस पर्वको प्रमुख आकर्षण ‘साकेला सिली’ नाच हो । साकेलाले प्रकृति, ऋतु परिवर्तन, कृषि कर्म र सामाजिक जीवनका विविध पक्षलाई लयबद्ध रूपमा प्रस्तुत गर्छ ।
साकेला नाचमा सहभागीहरू परम्परागत भेषभूषामा सजिएर गोलाकार घेरामा नाच्दै विभिन्न प्रतीकात्मक हाउभाउमार्फत जीवनका गतिविधिहरू प्रस्तुत गर्छन् । यसले सामूहिकता, एकता र सांस्कृतिक निरन्तरताको सन्देश दिन्छ ।
उभौली पर्वलाई ‘चण्डी पूर्णिमा’ पनि भन्ने गरिन्छ । किनकि यस अवसरमा चण्डी नाच पनि प्रस्तुत गरिन्छ । किराँत समुदायभित्रका विभिन्न सम्प्रदायहरूले आआफ्नै शैलीमा पर्व मनाउने गरे पनि यसको मूल भाव र उद्देश्य एउटै रहेको पाइन्छ । प्रकृतिसँग सन्तुलित सम्बन्ध कायम राख्ने र पुर्खाको सम्झनामा श्रद्धा अर्पण गर्ने यसको मूल उद्देश्य हो ।
काठमाडौं उपत्यका, तराईदेखि पूर्वी पहाडी जिल्लाहरुमा धुमधामसाथ यो पर्व मनाइन्छ । किराँत समुदायमा उभौली र उँधौली दुवै पर्वको विशेष महत्व छ । धेरैले उभौली वैशाख शुक्ल पूर्णिमामा र उँधौली मार्गशीर्ष शुक्ल पूर्णिमामा मनाउने गर्छन् । उँधौली पर्व भने जाडो छल्न बेँसीतिर झर्ने परम्परासँग जोडिएको छ ।
केही समूहले भने उत्तरायण र दक्षिणायनको आधारमा पनि यी पर्व मनाउने गर्छन् । जसअनुसार माघ १ गते उभौली र साउन १ गते उँधौली मनाइन्छ ।
उभौली पर्वले धार्मिक विश्वाससँगै वातावरण संरक्षणको सन्देश पनि प्रवाह गर्छ । भूमिपूजा, वनदेवीको पूजा र प्राकृतिक स्रोतप्रतिको सम्मानमार्फत मानिसलाई प्रकृतिसँग सहअस्तित्वमा बाँच्न प्रेरित गरिन्छ । अहिलेको बदलिँदो जलवायु र वातावरणीय संकटका सन्दर्भमा यस्तो परम्परागत ज्ञान र अभ्यास अझ सान्दर्भिक बन्दै गएको देखिन्छ ।
विशेषगरी पूर्वी नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरूमा उभौलीका अवसरमा विशेष कार्यक्रमहरू आयोजना भइरहेका छन् । त्यहाँ हजारौँ श्रद्धालु भेला भई पूजा, नाचगान र सांस्कृतिक कार्यक्रममार्फत पर्व मनाउने परम्परा छ ।
उभौली पर्व एउटा धार्मिक उत्सव मात्र नभई प्रकृति, संस्कृति, कृषि र सामाजिक जीवनको गहिरो सम्बन्धलाई उजागर गर्ने एक महत्वपूर्ण अवसर हो । यसले मानव र प्रकृतिबीचको अन्तरसम्बन्धलाई स्मरण गराउँदै सन्तुलित जीवनशैली अपनाउन प्रेरित गर्दछ ।



















