
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ९३ जना सवारी चालक कारबाहीमा परेका छन् । यस कारबाहीबाट १९ लाख ९९ हजार ५ सय २ रुपैयाँ राजस्व दाखिला भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै ‘राइड सेयरिङ’ गर्ने २२५ जना रहेका छन् । यस्तै, लेन अनुशासन पालना नगर्ने १९४, तीव्र गतिमा सवारी चलाउने १५३, ट्राफिक संकेत उल्लंघन गर्ने १३७ र सडक पेटीमा पार्किङ गर्ने १०९ जना कारबाहीमा परेका छन् ।
यसैगरी, मादक पदार्थ सेवन (मापासे) गरेर सवारी चलाउने ६५, निषेधित क्षेत्रमा हर्न बजाउने ५८ र निर्धारित स्थान बाहिर यात्री चढाउने तथा ओराल्ने ४१ जनालाई पनि कारबाही गरिएको छ । अन्य विभिन्न ट्राफिक नियम पालना नगर्ने १ हजार १२१ जना चालकलाई समेत ट्राफिक प्रहरीले जरिवाना गराएको छ ।
उपत्यकामा बढ्दो सडक दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनलाई सहज बनाउन ट्राफिक प्रहरीले नियमित चेकजाँच र कारबाहीलाई तीव्रता दिँदै आएको छ ।



















