आङ सान सूकीलाई कारागारबाट सारियो, घरमै नजरबन्दमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार १२:२९

एजेन्सी । म्यान्मारकी प्रख्यात नेतृ आङ सान सुकीलाई कारागारबाट घरमै नजरबन्दमा सारिएको सैन्य प्रशासनले जनाएको छ । म्यान्मारका सैन्य प्रमुख मिन आङ लाइङले सुकीको बाँकी सजाय घरमै बसेर पूरा गराउने आदेश दिइएको बताएका छन् ।

८० वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुकी सन् २०२१ मा भएको सैन्य विद्रोहपछि सत्ताबाट हटाइएपछि निरन्तर हिरासतमा राखिँदै आएकी थिइन् । उक्त विद्रोहको नेतृत्व स्वयं मिन आङ लाइङले गरेका थिए । उनले म्यान्मारमा पुनः सैनिक शासन स्थापना गरेका थिए ।

सुकी यसअघि सन् २०१५ मा भएको आमनिर्वाचनपछि सत्तामा आएकी थिइन् । त्यस समय म्यान्मारमा सीमित लोकतान्त्रिक सुधारहरू लागू गरिएको थियो ।

तर, त्यसअघि उनी लामो समयसम्म सैन्य शासनविरुद्ध संघर्ष गर्ने प्रमुख लोकतन्त्र समर्थक नेतृका रूपमा चिनिन्थिन् । उनी विगतमा पनि करिब १५ वर्षसम्म घरमै नजरबन्दमा राखिएकी थिइन् ।

यसपटकको निर्णयसँगै उनलाई पुनः घरमै सीमित गरिए पनि उनको अवस्थाबारे विभिन्न शंका उत्पन्न भएका छन् । बेलायती सञ्चारमाध्यमका अनुसार सरकारी मिडियाले सार्वजनिक गरेको एक तस्बिरमा सुकी दुई जना सैनिक पोसाकधारी व्यक्तिसँग बसेको देखिन्छ ।

तर, उनका छोरा किम एरिस ले उक्त तस्बिरप्रति गम्भीर प्रश्न उठाएका छन् । उनले आमा जीवित रहेको विश्वसनीय प्रमाण अहिलेसम्म नदेखिएको दाबी गर्दै सरकारी तस्बिरको सत्यतामाथि समेत शंका व्यक्त गरेका छन् ।

सैन्य सरकारले सार्वजनिक गरेको सूचना र तस्बिरप्रति परिवारकै सदस्यले प्रश्न उठाएपछि सुकीको वास्तविक अवस्था र स्वास्थ्यबारे अन्तर्राष्ट्रिय स्तरमा चासो बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.