विराटनगरको अरनिको माविलाई ‘राष्ट्रिय शिक्षा सम्मान’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १९, शनिबार २०:४४
विराटनगरको अरनिको माविलाई ‘राष्ट्रिय शिक्षा सम्मान’

काठमाडौं । ‘विद्याधनं सर्वधन प्रधानम्’ भन्ने मूल नारालाई आत्मसात् गर्दै गुणस्तरीय शिक्षामा आफूलाई अब्बल साबित गरेको विराटनगरस्थित अरनिको माध्यमिक विद्यालय/ कलेज ‘राष्ट्रिय शिक्षा सम्मान २०८३’ बाट सम्मानित भएको छ ।

काठमाडौंको फोकस नेपाल संस्थाले देशैभरका माध्यमिक विद्यालयहरूमध्येबाट उत्कृष्ट नतिजा र शैक्षिक योगदानका आधारमा अरनिको माविलाई सम्मान प्रदान गरेको हो ।

काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रियसभाकी उपाध्यक्ष लिलाकुमारी भण्डारी र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले अरनिको माविका प्राचार्य राजेश कार्कीलाई उक्त सम्मान पत्र प्रदान गरे ।

विगतका वर्षहरूको उत्कृष्ट परीक्षाफल, पर्याप्त र अत्याधुनिक भौतिक पूर्वाधार, दक्ष एवं अनुभवी शिक्षक–शिक्षिकाहरूको समूह र समयानुकूल प्रतिस्पर्धात्मक शिक्षा प्रदान गरेकै कारण अरनिको मावि देशभरकै उत्कृष्ट विद्यालयको सूचीमा पर्न सफल भएको हो । केवल किताबी ज्ञानमा मात्र सीमित नभई अतिरिक्त क्रियाकलाप र दक्ष जनशक्ति उत्पादनमा समेत यस विद्यालयले पुर्‍याएको योगदानको उच्च कदर गर्दै यो सम्मान दिइएको आयोजकले जनाएको छ ।

सम्मान प्रदान गर्दै प्रमुख अतिथि उपाध्यक्ष भण्डारीले शिक्षा क्षेत्रमा अरनिको माविले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताइन् । फोकस नेपालले विद्यालयको निरन्तर प्रगतिको कामना गर्दै भविष्यमा राष्ट्रका लागि अझै ठुलो शैक्षिक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । यो सम्मानले विराटनगरको मात्र नभई समग्र कोशी प्रदेशकै शैक्षिक गरिमा बढाएको प्राचार्य कार्कीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.