
विराटनगर । नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगालमा राजनीतिक उलटफेर भएको छ । यसलाई भारतीय राजनीतिक इतिहासकै ठूलो उलटफेर मानिएको छ ।
१५ वर्षदेखि एकछत्र शासन गरिरहेकी मुख्यमन्त्री ममता बनर्जी र उनको पार्टी तृणमूल कांग्रेस सत्ताबाट बाहिरिने संकेत देखिएको छ । भारतीय जनता पार्टी (भाजपा) सुविधाजनक बहुमत नजिक छ ।
ममता बनर्जी (ममता दिदी) को तृणमूल कांग्रेसका उम्मेदवार अधिकांश क्षेत्रमा पराजित भएका छन् । तृणमूल कांग्रेसको गढ मानिने क्षेत्रहरूमा भाजपाले ठूलो धक्का दिएको छ । यो परिवर्तनले राज्यको भुइँतहको राजनीतिमा ठूलो फेरबदल आएको संकेत गर्दछ ।
राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक सामाजिक समीकरणमा व्यापक फेरबदल आएको छ ।
विगत एक दशकदेखि तृणमूलको शक्तिको मुख्य स्रोत मानिने ‘महिला मतदाता’ र ‘मुस्लिम भोट बैंक’ यसपटक विभाजित भएको देखिएको छ ।
हिन्दू मतहरूको ठूलो हिस्सा भाजपाको पक्षमा ध्रुवीकृत हुनु र अल्पसंख्यक मतदाताको पूर्ण समर्थन तृणमूलले नपाउनु नै ममता बनर्जीका लागि मुख्य चुनौती बनेको हो ।
चुनाव जित्न ममता सरकारले ल्याएका लोकप्रिय योजनाहरू यसपटक खासै प्रभावकारी देखिएनन् । महिलाहरूका लागि ल्याइएको ‘लक्ष्मी भण्डार’ योजनामा ५०० रुपैयाँ वृद्धि र युवाहरूका लागि मासिक १५०० रुपैयाँ दिने ‘युवा साथी’ भत्ता जस्ता योजनाले पनि मतदातालाई आकर्षित गर्न सकेन ।
स्थानीय स्तरमा व्याप्त भ्रष्टाचार, सत्ता विरोधी लहर र परिवर्तनको चाहनाका अगाडि सरकारी कल्याणकारी योजनाहरू फिक्का सावित भएका छन् । विशेषगरी युवाहरूमा बेरोजगारीको मुद्दा र परिवर्तनको राजनीतिले गहिरो प्रभाव पारेको देखिन्छ ।
कोलकातास्थित तृणमूलको मुख्यालय कालीघाटमा सन्नाटा छाएको छ भने भाजपाको राज्य मुख्यालयमा विजय उत्सवको तयारी सुरु भएको छ ।
द वायरकाे सहयाेगमा

























