
एजेन्सी । मध्यपूर्वमा बढ्दो तनावबीच चीनले तत्काल युद्ध अन्त्य गर्न र सबै पक्षलाई पुनः वार्तामा फर्किन आग्रह गरेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग बेइजिङमा भएको भेटवार्तापछि यस्तो धारणा सार्वजनिक गरेका हुन् । वाङ यीले जारी गरेको वक्तव्यमा अहिलेको शत्रुता थप लम्बिन नहुने उल्लेख गर्दै युद्धविरामलाई स्थायी बनाउन कूटनीतिक प्रयास तीव्र बनाउनुपर्ने बताएका छन् ।
उनले विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य पुनः सुरक्षित र नियमित रूपमा सञ्चालनमा आउनुपर्नेमा जोड दिए । चीनले इरानलाई शान्तिपूर्ण प्रयोजनका लागि आणविक ऊर्जा प्रयोग गर्ने अधिकार रहेको स्पष्ट पारेको छ ।
साथै, इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता जनाएको विषयलाई बेइजिङले सकारात्मक रूपमा लिएको जनाएको छ । मध्यपूर्वमा जारी अस्थिरताले चीनलाई प्रत्यक्ष असर पार्ने देखिएको छ ।
चीनले आयात गर्ने ठूलो परिमाणको कच्चा तेल मध्यपूर्वबाट आउने भएकाले हर्मुज जलडमरूमध्य अवरुद्ध भए ऊर्जा आपूर्तिमा समस्या उत्पन्न हुन सक्ने चिन्ता बढेको छ । चीनले आगामी दिनमा पनि युद्ध अन्त्य, तनाव न्यूनीकरण र शान्ति वार्ता अघि बढाउन सक्रिय भूमिका खेल्ने जनाएको छ ।



















