
एजेन्सी । पश्चिम बंगालको परगना जिल्लाको मध्यमग्राम क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा)का नेता सुवेन्दु अधिकारीका निजी सहायक चन्द्रनाथ रथको गोली हानी हत्या गरिएको छ ।
दोहरिया क्षेत्रमा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले अधिकारीका पीए चन्द्रनाथ रथ सवार गाडीलाई लक्षित गर्दै अन्धाधुन्ध गोली प्रहार गरेका थिए । गम्भीर घाइते अवस्थामा उनलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका छन् ।
घटनामा गाडी चालक बुद्धदेव बेरा पनि गम्भीर घाइते भएका छन् । उनको उपचार कोलकातास्थित अस्पतालमा भइरहेको छ ।
प्रारम्भिक विवरणअनुसार चारवटा मोटरसाइकलमा आएका करिब आठ जना आक्रमणकारीहरूले योजनाबद्ध रूपमा हमला गरेको देखिएको छ । घटनापछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ ।
भारतीय जनता पार्टीभित्र तीव्र आक्रोश फैलिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।
सुवेन्दु अधिकारी लामो समयसम्म पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी निकट रहेर काम गरेका नेता हुन् । हालै उनी भाजपा प्रवेश गरी चुनावमा ममता बनर्जीलाई नै पराजित गरेका थिए ।



















