
एजेन्सी । लेबनानमा इजरायली सेनाले गरेको पछिल्लो भीषण आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका विभिन्न हवाई आक्रमणमा नागरिकसँगै उद्धार कार्यमा खटिएका स्वास्थ्यकर्मीहरू पनि मारिएका छन् ।
दक्षिण लेबनानको बिन्ट जबेल जिल्लामा पर्ने कलाउइया र तिबनिन क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रहरूलाई समेत इजरायली लडाकु विमानले प्रत्यक्ष निशाना बनाएको बताइएको छ । आक्रमणको समयमा ती स्वास्थ्य केन्द्रहरूमा घाइतेहरूको उपचार भइरहेको थियो ।
लगातारको बमबारीका कारण उद्धार कार्यसमेत प्रभावित भएको छ । स्थानीय अधिकारीहरूले स्वास्थ्यकर्मीहरूलाई लक्षित गरेर गरिएको आक्रमणलाई गम्भीर मानवीय संकटको रूपमा व्याख्या गरेका छन् ।
लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २०२६ यता सुरु भएको इजरायली सैन्य अभियानपछि हालसम्म १०३ भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ भने २३० भन्दा बढी घाइते भएका छन् । यस अवधिमा स्वास्थ्य सेवासम्बन्धी संरचनामाथि १३० भन्दा बढी पटक आक्रमण भएको दाबी गरिएको छ ।
युद्धविरामको प्रयास भइरहे पनि जमिनमा हिंसा रोकिएको छैन । संयुक्त राष्ट्रसंघले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन भएको भन्दै चिन्ता व्यक्त गरेको छ । पछिल्ला घटनासँगै लेबनानमा जारी हिंसाले थप मानवीय संकट गहिरिँदै गएको छ ।



















