
एजेन्सी । चीनमा विवाह दर्ताको संख्या दशककै न्यून विन्दुमा पुगेको छ । यसले देशको जनसांख्यिकीय संरचनामाथि गहिरो प्रश्न उठाएको छ ।
सन् २०२६ को पहिलो त्रैमासिकमा करिब १७ लाख विवाह दर्ता भएका छन् । जुन १.४ अर्ब जनसंख्या भएको मुलुकका लागि निकै कम मानिन्छ ।
रोयटर्सले सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार यो संख्या सन् २०२५ को सोही अवधिको तुलनामा ६.२ प्रतिशतले घटेको हो । अझ चिन्ताजनक पक्ष भनेको सन् २०१७ को पहिलो त्रैमासिकको तुलनामा विवाह संख्या झन्डै आधाले घट्नु हो ।
विवाह घट्दै जाँदा चीनमा जन्मदर पनि निरन्तर ओरालो लागिरहेको छ । हाल जन्मदर रेकर्डकै न्यून स्तरमा पुगेको र आगामी वर्षहरूमा अझ घट्न सक्ने चेतावनी जनसांख्यिक विज्ञहरूले दिएका छन् । यसले चीनको श्रमशक्ति, उत्पादन क्षमता र दीर्घकालीन आर्थिक वृद्धिमा असर पार्ने चिन्ता बढेको छ ।
लगातार चौथो वर्ष जनसंख्या घटेको तथ्यांक सार्वजनिक भएसँगै चीनले युवालाई विवाह र सन्तान जन्माउन प्रोत्साहित गर्ने नीति अघि सारेको छ । सरकारले आर्थिक अनुदान, बालबालिका पालनपोषणमा सहयोग तथा स्वास्थ्य सेवामा सहुलियत जस्ता कार्यक्रममार्फत जन्मदर बढाउने प्रयास गरिरहेको छ ।
तर, सामाजिक परिवर्तन, बढ्दो जीवन खर्च र बदलिँदो जीवनशैलीका कारण विवाह र सन्तान जन्माउने प्रवृत्ति कमजोर हुँदै गएको विश्लेषण गरिएको छ ।



















