
विराटनगर । विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्था (नाटा) को डीआर आवास गृहमा उपचाररत बिरामीहरूका लागि १५ दिने सिलाइ कटाइ तालिम सुरु भएको छ । नेपाल क्षयरोग निवारण संस्था मोरङको आयोजना तथा विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा शुक्रबारदेखि यो तालिम सुरु भएको हो ।
औषधि प्रतिरोधी (डीआर) क्षयरोगको लामो उपचार पद्धतिमा रहेका बिरामीहरूलाई उपचारपश्चात् समाजमा पुनर्स्थापना हुन र आयआर्जनका लागि दक्ष बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा डीआर आवास गृहमा रहेका ३ महिला र ४ पुरुष गरी ७ जना बिरामीको सहभागिता रहेको छ ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै नाटा मोरङका अध्यक्ष घनश्याम राठीले संस्थाले बिरामीको स्वास्थ्य उपचार मात्र नभई उनीहरूको जीवनयापनलाई समेत सुदृढ बनाउने सोच राखेको बताए । विक्रम संवत् २०१६ मा स्थापित नाटा मोरङ हाल कोशी प्रदेशको ‘रेफरल सेन्टर’ का रूपमा स्थापित भई बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका तथ्यांक अधिकृत दीपक भट्टराईले नाटा मोरङले राज्यले गर्नुपर्ने मानवीय सेवाको कार्य निस्वार्थ भावले गरिरहेको भन्दै प्रशंसा गरे । महानगरपालिकाले यो तालिमका लागि ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको समेत उनले जानकारी दिए ।
स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले क्षयरोगको प्रत्यक्ष सम्बन्ध गरिबी र पोषणसँग रहने उल्लेख गर्दै बिरामी आर्थिक रूपमा सक्षम भए मात्र नियमित औषधि र पोसिलो खानपान सम्भव हुने बताए । यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका डा. नवीनप्रकाश शाहले बिरामीले रोग निको पारेर समाजलाई पनि संक्रमणबाट बचाउने दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नाटाका केन्द्रीय कार्यवाहक अध्यक्ष राजन श्रेष्ठले नाटाका ३६ जिल्ला शाखामध्ये मोरङ शाखा उत्कृष्ट रहेको बताए । उनले भने, ‘डीआर क्षयरोगीले लामो समयसम्म (३२ महिनासम्म) एकै ठाउँमा बसेर औषधि सेवन गर्दा मानसिक तनाव हुन सक्छ । यस्ता सीपमूलक कार्यक्रमले बिरामीमा ऊर्जा थप्नुका साथै उनीहरूको पुनर्स्थापनामा ठुलो मद्दत पुग्छ ।
बीएनएमटीका विराटनगर प्रमुख रामप्रसाद कोइरालाले नाटासँगको सहकार्यमा लुकेर रहेका क्षयरोगी पत्ता लगाउने काम भइरहेको र आवासगृहका बिरामीलाई आवश्यक केयर प्याकेजहरू उपलब्ध गराउँदै आएको बताए ।
हाल १५ जना क्षमताको डीआर आवास गृहमा क्षमताभन्दा बढी अर्थात् १८ जना बिरामीले सेवा लिइरहेका छन् । नेपाल सरकारले सन् २०५० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य राखेको छ । यस्ता तालिमले बिरामीलाई मानसिक रूपमा स्वस्थ राख्न र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

























