विराटनगरमा डीआर क्षयरोगीका लागि सिलाइ कटाइ तालिम 

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार १८:४८
विराटनगरमा डीआर क्षयरोगीका लागि सिलाइ कटाइ तालिम 

विराटनगर । विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्था (नाटा) को डीआर आवास गृहमा उपचाररत बिरामीहरूका लागि १५ दिने सिलाइ कटाइ तालिम सुरु भएको छ । नेपाल क्षयरोग निवारण संस्था मोरङको आयोजना तथा विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा शुक्रबारदेखि यो तालिम सुरु भएको हो ।

औषधि प्रतिरोधी (डीआर) क्षयरोगको लामो उपचार पद्धतिमा रहेका बिरामीहरूलाई उपचारपश्चात् समाजमा पुनर्स्थापना हुन र आयआर्जनका लागि दक्ष बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा डीआर आवास गृहमा रहेका ३ महिला र ४ पुरुष गरी ७ जना बिरामीको सहभागिता रहेको छ ।

तालिम उद्‌घाटन कार्यक्रममा बोल्दै नाटा मोरङका अध्यक्ष घनश्याम राठीले संस्थाले बिरामीको स्वास्थ्य उपचार मात्र नभई उनीहरूको जीवनयापनलाई समेत सुदृढ बनाउने सोच राखेको बताए । विक्रम संवत् २०१६ मा स्थापित नाटा मोरङ हाल कोशी प्रदेशको ‘रेफरल सेन्टर’ का रूपमा स्थापित भई बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका तथ्यांक अधिकृत दीपक भट्टराईले नाटा मोरङले राज्यले गर्नुपर्ने मानवीय सेवाको कार्य निस्वार्थ भावले गरिरहेको भन्दै प्रशंसा गरे । महानगरपालिकाले यो तालिमका लागि ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको समेत उनले जानकारी दिए ।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले क्षयरोगको प्रत्यक्ष सम्बन्ध गरिबी र पोषणसँग रहने उल्लेख गर्दै बिरामी आर्थिक रूपमा सक्षम भए मात्र नियमित औषधि र पोसिलो खानपान सम्भव हुने बताए । यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका डा. नवीनप्रकाश शाहले बिरामीले रोग निको पारेर समाजलाई पनि संक्रमणबाट बचाउने दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।

नाटाका केन्द्रीय कार्यवाहक अध्यक्ष राजन श्रेष्ठले नाटाका ३६ जिल्ला शाखामध्ये मोरङ शाखा उत्कृष्ट रहेको बताए । उनले भने, ‘डीआर क्षयरोगीले लामो समयसम्म (३२ महिनासम्म) एकै ठाउँमा बसेर औषधि सेवन गर्दा मानसिक तनाव हुन सक्छ । यस्ता सीपमूलक कार्यक्रमले बिरामीमा ऊर्जा थप्नुका साथै उनीहरूको पुनर्स्थापनामा ठुलो मद्दत पुग्छ ।

बीएनएमटीका विराटनगर प्रमुख रामप्रसाद कोइरालाले नाटासँगको सहकार्यमा लुकेर रहेका क्षयरोगी पत्ता लगाउने काम भइरहेको र आवासगृहका बिरामीलाई आवश्यक केयर प्याकेजहरू उपलब्ध गराउँदै आएको बताए ।

हाल १५ जना क्षमताको डीआर आवास गृहमा क्षमताभन्दा बढी अर्थात् १८ जना बिरामीले सेवा लिइरहेका छन् । नेपाल सरकारले सन् २०५० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य राखेको छ । यस्ता तालिमले बिरामीलाई मानसिक रूपमा स्वस्थ राख्न र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×