
विराटनगर । बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहरैँचा नगरपालिका– १ की मूर्ति भगत चौधरीले कर्मचारी र सेवाग्राहीलाई लड्डु बाडिन् । ८ वर्षको लामो सङ्घर्षपछि आफ्ना तीन सन्तानको नागरिकता बनेको खुसीमा उनले कर्मचारी र सेवाग्राहीलाई मिठाई बाँडेकी हुन् ।
मूर्तिका तीन सन्तान २७ वर्षीया दीक्षा, २४ वर्षीया प्रेक्षा र २२ वर्षीय छोरा ओमको अनुहारमा पनि बिहीबार वर्षौंपछिको मुस्कान फर्कियो । ‘आज धेरै खुसी छु, यो शब्दमा भन्न सक्दिनँ,’ मूर्तिले भनिन्,‘ ८ वर्ष लडेर बल्ल छोराछोरीलाई नागरिकता बनाउन पाए ।’
मुर्तिकी जेठी छोरी दीक्षाले सन् २०१९ मै अनमीको पढाइ पूरा गरेकी थिइन् । तर, नागरिकता नहुँदा उनले लाइसेन्स परीक्षा दिन पाइनन् । प्राइभेट अस्पतालमा जागिर खान खोज्दा पनि नागरिकता नै तगारो बन्यो । छोराले आईईएलटीएस पढे, राहदानी बनाउन नपाउँदा विदेश जाने सपना अधुरै थियो । नागरिकता नहुँदा पूरै परिवार मानसिक तनावमा थियो ।
मूर्तिका श्रीमान् पीताम्बरसँग नागरिकता थिएन । श्रीमानसँग सम्बन्धविच्छेद भएपछि आमाकै नामबाट नागरिकता बनाउन खोज्दा परिवारका अन्य सदस्य बाधक बने । जेठाजु लक्ष्मण चौधरीसँग नागरिकता भए पनि उनले आफ्नै भतिज–भतिजीको सनाखत गरिदिन मानेनन् । आफ्नाले साथ नदिएपछि मूर्तिले ८ वर्षसम्म सरकारी अड्डा र अदालतको चक्कर लगाइन् ।

अन्ततः मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले यो विषयमा चासो राखे । पटक–पटक आग्रह गर्दा पनि सनाखत गर्न नआएपछि प्रजिअ कट्टेलकै निर्देशनमा प्रहरीले जेठाजु लक्ष्मणलाई पक्राउ गरेर ल्याएको थियो । प्रहरीले प्रशासन कार्यालयमा उपस्थित गराएपछि दीक्षा, प्रेक्षा र उनका भाइको नागरिकता बन्ने प्रक्रिया पूरा भयो ।
कट्टेलका अनुसार सम्बन्धबिच्छेद भएपनि उनका पतिको नागरिकता बनेको भए सन्तानका लागि नागरिकता बनाउन समस्या हुने थिएन् । तर, पतिको नागरिकता नभएको र नागरिकता भएका ठूलोबुबा९मूर्तिका जेठाजु०ले साक्षी बस्न आउन नमानेपछि प्रहरी लगाएर उपस्थित गराएको थियो । ‘४–५ महिनादेखि आउनु भनेको उहाँ मान्नुभएको थिएन । प्रहरी लगाएरै उपस्थित गराएपछि मात्र प्रक्रिया अघि बढ्यो,’ प्रजिअ कट्टेलले भने, ‘नागरिकलाई राज्यले दिने अधिकारबाट कसैले वञ्चित गर्न पाइँदैन, मैले आफ्नो कर्तव्य मात्रै पूरा गरेको हो ।’
नागरिकताको प्रमाणपत्र हातमा परेपछि २७ वर्षीया दीक्षाले भनिन्,‘हाम्रो जिन्दगी नै रोकिएको थियो । साथीहरू जागिर खाएर कहाँ पुगिसके, हामी भने एउटा कागजको टुक्रा नहुँदा घरभित्रै थुनिएका थियौँ । अब भने हाम्रा लागि संसारको बाटो खुल्यो ।’



















