
रंगेली । मोरङका सीमावर्ती क्षेत्रका किसान यतिबेला खेतभरि पाकेको मकै भित्र्याउन व्यस्त छन् । रंगेली, सुनवर्षी, धनपालथान, रतुवामाई, कानेपोखरीलगायतका क्षेत्रमा यस वर्ष मकै खेती उल्लेख्य रूपमा विस्तार भएको छ ।
विगतमा गहुँ र सनपाट खेतीमा निर्भर रहेका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका हुन् । तर, उत्पादन राम्रो भए पनि बदलिँदो मौसम, निरन्तरको वर्षा र बजार व्यवस्थापनको अभावले किसानको अनुहारमा भने चिन्ता थपिएको छ ।
यस वर्ष लगातार बदलिँदो मौसम र अचानक परेको वर्षाले खेतमै सुकाउन राखिएको मकै भिज्ने, कुहिने तथा गुणस्तर घट्ने समस्या देखिएको किसानहरूले बताएका छन् । अघिल्ला वर्षहरूमा मकै पाक्ने समयमा कम वर्षा हुने भएकाले किसानहरूले सहज रूपमा मकै खेतमै सुकाउने गर्थे । तर, अहिले मौसमको अनिश्चितताले मकै भित्र्याउनै कठिन भइरहेको उनीहरूको गुनासो छ ।
धनपालथानका किसान विजय मण्डल भन्छन्, ‘अघिल्ला वर्षमा मौसमले साथ दिन्थ्यो । मकै सजिलै भित्र्याउँथ्यौँ । यस वर्ष पानीले हैरान बनायो । खेतमै मकै बिग्रिने डर छ ।’ उनका अनुसार पानीका कारण समयमै मकै टिप्न नसक्दा उत्पादनमा समेत असर परेको छ ।

किसानहरूका अनुसार भिजेको मकै व्यापारीहरूले कम मूल्यमा किन्ने गरेका छन् । उत्पादन लागत दिनप्रतिदिन बढ्दै गएका बेला उचित मूल्य नपाउँदा खेतीबाट फाइदा उठाउन कठिन भएको उनीहरूको भनाइ छ । मकै सुकाउन पर्याप्त घाम नपाउँदा भण्डारण गर्नसमेत समस्या भइरहेको किसानहरूले बताएका छन् ।
पछिल्लो केही वर्षयता सीमावर्ती क्षेत्रमा सनपाट खेती घट्दै गएको छ । अत्यधिक लगानी, मजदुर अभाव र उत्पादन लागत बढेपछि किसानहरू वैकल्पिक खेतीतर्फ लाग्न बाध्य भएका हुन् । स्थानीय कृषक सुन्द्रा लाल मण्डलका अनुसार सनपाट खेतीमा मल, बीउ, सिँचाइ र मजदुरी खर्च अत्यधिक बढेको छ । त्यसमा पनि बजारमा उचित मूल्य नपाउँदा किसान निराश बन्न थालेपछि धेरैले मकै खेती रोजेका छन् ।
रंगेलीका किसान मनोजकुमार मण्डल भन्छन्, ‘पहिले हामी सनपाट खेती धेरै गर्थ्यौं । तर, अहिले खर्च धान्नै मुस्किल भयो । मजदुर पाइँदैन, पाइए पनि ज्याला धेरै तिर्नुपर्छ । त्यसैले अहिले मकै खेती गर्न थालेका छौं ।’ उनका अनुसार मकै खेतीमा मेहनत र लागत दुवै बढी लागे पनि बजारमा माग राम्रो भएकाले आम्दानी हुने अपेक्षाले किसानहरू आकर्षित भएका हुन् ।

स्थानीय किसानहरूका अनुसार पछिल्लो समय पशुपालन व्यवसाय विस्तार भएसँगै दानाका रूपमा मकैको माग उल्लेख्य रूपमा बढेको छ । त्यसैले उत्पादन बिक्री गर्न सहज हुने विश्वास किसानहरूमा देखिन्छ । तर, बजारमा मूल्य निर्धारण गर्ने अधिकार किसानसँग नभई व्यापारी र बिचौलियासँग हुँदा किसानहरू मारमा परेको गुनासो छ ।
किसानहरूका अनुसार मल, बिउ, विषादी, मजदुरी तथा खेतीपातीका अन्य सामग्रीको मूल्य हरेक वर्ष बढिरहेको छ । तर, आफूहरूले उत्पादन गरेको मकैको मूल्य भने व्यापारीहरूले मनोमानी रूपमा तोक्ने गरेका छन् । ‘हामीले दुःख गरेर उत्पादन गर्यौँ । तर, मूल्य चाहिँ अरूले तोक्छन्,’ किसानहरू भन्छन्, ‘खेतीका सबै सामग्रीको मूल्य बढेको छ । तर, हाम्रो उत्पादनको मूल्य भने बढ्न सकेको छैन ।’
किसानहरूले मकै बिक्रीका लागि अझै पनि बिचौलियाकै भर पर्नुपर्ने अवस्था रहेको बताएका छन् । धेरै किसानले उत्पादन आफ्नै घरबाट व्यापारीलाई बेच्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । सरकारले मकैको न्यूनतम समर्थन मूल्य निर्धारण नगर्दा किसानहरू थप समस्यामा परेको उनीहरूको भनाइ छ ।

कृषकहरूले सरकारले समयमै मल, बीउ तथा कृषि अनुदान उपलब्ध गराए उत्पादन अझै वृद्धि गर्न सकिने बताएका छन् । साथै, मकैको समर्थन मूल्य तोक्नुपर्ने, प्रत्यक्ष खरिदको व्यवस्था गर्नुपर्ने तथा बिचौलियाको नियन्त्रण घटाएर किसानमैत्री कृषि नीति लागू गर्नुपर्ने मागसमेत उनीहरूले गरेका छन् ।
कृषि क्षेत्रसँग सम्बन्धित जानकारहरू भने बदलिँदो मौसमीय प्रभावका कारण खेती प्रणालीमै असर पर्न थालेको बताउँछन् । उनीहरूले किसानलाई समयमै कटानी, सुरक्षित भण्डारण तथा मौसमको पूर्वजानकारी लिएर खेती व्यवस्थापन गर्न सुझाव दिएका छन् ।
सीमावर्ती क्षेत्रमा मकै खेती विस्तार भएसँगै किसानहरूमा नयाँ आशा पलाएको देखिए पनि मौसमको अस्थिरता, बजारको असन्तुलन र सरकारी सहयोगको अभावले उनीहरूको भविष्य अझै अनिश्चित बनेको छ । खेतभरि मकै लहलहाए पनि किसानको अनुहारमा भने सन्तोषभन्दा बढी चिन्ता देखिन थालेको छ ।



































