
झापा । झापाको अर्जुनधारा नगरपालिका–८ कुशलचोकमा एक महिलाको हत्या भएको छ । प्रहरीले हत्याको अभियोगमा एक जना युवकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा अर्जुनधारा–८ कुशलचोककी २९ वर्षीया काजल बस्नेत सुवेदी रहेकी छन् । घटनामा संलग्न रहेको आरोपमा अर्जुनधारा–५ कञ्चनबाडीका २४ वर्षीय किरण गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सोमबार राति करिब ९ः१५ बजे कुशलचोकस्थित एआईएमएस सेकेन्डरी बोर्डिङ स्कुलको पश्चिमतर्फ रहेको खुला चउरमा काजल र किरण अत्यधिक मदिरा सेवन गरेर बसेका थिए । सोही क्रममा उनीहरूबीच विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
विवाद चर्किएपछि किरणले काजललाई धकेलेका थिए । धकेल्ने क्रममा उनी चउरको बीच भागमा सिमाना छुट्याउन बनाइएको कंक्रिटको प्लममा ठोक्किन पुगेकी थिइन् । टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी काजललाई स्थानीयले उद्धार गरेर उपचारका लागि सुरुमा स्थानीय शंकर अस्पताल पुर्याएका थिए ।
त्यसपछि थप उपचारका लागि उनलाई बिर्तामोडस्थित बी एन्ड सी अस्पताल हुँदै प्रादेशिक मेची अस्पताल भद्रपुर लगिएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ४ः४० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकका श्रीमान् वैदेशिक रोजगारीका लागि दुबईमा छन् । घटनाको बारेमा मृतककी दिदी प्रतिमा भट्टराईले प्रहरीमा जाहेरी दिएकी छन् ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले अभियुक्त किरणलाई घटनास्थलबाटै पक्राउ गरेको थियो । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



















