
विराटनगर । विद्यार्थीको क्षमता र नेतृत्व विकासका साथै भूराजनीतिक बहु आयामिक विषयवस्तुसँग परिचित गराउन विराटनगरमा शुक्रबारदेखि ‘विराटनगर रोटरी नमुना संयुक्त राष्ट्र संघ ’सम्बन्धी सम्मेलन सुरु भएको छ ।
रोटरी क्लब अफ विराटनगर र रोट्राक्ट क्लब अफ विराटनगरले विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो । २२ देखि २४ मे सम्म एभरेस्ट कलेजमा हुने सम्मेलनमा कक्षा ७ देखि कक्षा १२ सम्मका ४ विद्यालयका २ सय २५ विद्यार्थी सहभागी छन् ।
सहभागी विद्यार्थीले सम्मेलनमा सार्क राष्ट्रको अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाको प्रतिनिधित्व गरिरहेका छन् ।
विद्यार्थीले संयुक्त राष्ट्र संघको कार्य सम्पादन बारे विस्तृत ज्ञान हासिल गर्दै आफूले प्रतिनिधित्व गरेको देशले भोग्दै आएको समस्या, मध्यपूर्व एसियाको युद्धले पैदा भएको इन्धन संकटले उत्पन्न आफ्नो देशमा विषम परिस्थिति, जलवायु परिवर्तन, आइटी, कार्बन उत्सर्जन, गरिबी उन्मूलन, मानव तस्करी, लागुऔषध दुव्यर्सन एवं कारोबार र निःशस्त्रीकरण लगायतका विषयमा पक्ष राख्ने छन् ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै रोटरी क्लब अफ विराटनगरका निवर्तमान अध्यक्ष एवं सम्मेलनका संयोजक मनोजविक्रम शाहले नमुना संयुक्त राष्ट्र संघको आफ्नै महत्त्व रहेको बताए । उनीहरूले सिकेका कुरालाई घर र समाजमा लैजान सके सार्थक हुने बताए । शाहले विद्यार्थीलाई क्षमतावान् बनाइ नेतृत्व उन्मुख बनाउने महासभाको उद्देश्य रहेको बताए ।
प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले यस प्रकारका कार्यक्रमले विद्यार्थीलाई विविध कुरा जान्ने र सिक्ने ठुलो अवसर दिने गरेको बताए । उनले विद्यार्थीले प्रयोगात्मक पद्धतिबाट सिकेका कुरा जीवनको टर्निङ प्वाइन्ट बन्न सकोस् भनी महासभाको सफलताको शुभकामना व्यक्त गरे ।
एभरेस्टका प्राचार्य टीकाराम पुरीले सूचना चौतर्फी भए पनि विवेक प्रयोगबाट मात्र आउने बताए । उनले आजको अन्तरसम्बन्धित विश्वमा किताबी ज्ञान एक्लैले नपुग्ने भन्दै वैश्विक कूटनीतिज्ञका भूमिका एवं कार्यशैली, संवेदनशील एजेन्डामा बहस र संयुक्त राष्ट्र संघको सञ्चालनबारे सम्मेलनले विद्यार्थीलाई अवसर उपलब्ध गराउने बताए ।
शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहालले हालको विश्वव्यापी बद्लिँदो परिस्थितिमा सबैले आ–आफ्नो जिम्मेवारी अनुसारको कार्य गर्नुपर्ने बताए । उनले विद्यार्थीले आफ्नै भूमि र क्षेत्रमा संयुक्त राष्ट्र संघको भूमिका निर्वाह गर्न पाउनु गर्वको कुरा भएको बताए ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले जीवनमा कसरी सही बाटो खोज्ने भन्ने महत्त्वपूर्ण भएको बताए । रोटरी क्लब अफ विराटनगरका अध्यक्ष ठाकुरप्रसाद आचार्यले यस प्रकारको कार्यक्रम विराटनगरमा रोटरीले पहिलो पटक आयोजना गरेको बताए । उनले सम्मेलनले विद्यार्थीमा परिपक्वता आउने र निर्णय लिने क्षमता मजबुत हुने बताए ।

























