अमेरिका–इरान थप टकरावको जोखिम बढ्दै, खाडी र युरोपेली शक्ति कूटनीतिक दौडमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ९, शनिबार १९:५७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नियमित सप्ताहन्त बिदा र गल्फ खेल्ने कार्यक्रम अचानक रद्द गर्दै ह्वाइट हाउस फर्किएपछि मध्यपूर्वमा पुनः युद्धको आशंका तीव्र बनेको छ ।

इरानसँगको सम्भावित सैन्य तनाव, परमाणु वार्ता र होर्मुज जलसन्धिको सुरक्षा अवस्थाका बारेमा वासिङ्टनमा उच्चस्तरीय छलफल तीव्र भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसले अमेरिका र इरानबीच थप टकरावको जोखिम बढाएको छ ।

Advertisement

सीबीएस न्यूजका अनुसार अमेरिकी प्रशासनभित्र इरानमाथि सम्भावित सैन्य कारबाहीका विभिन्न विकल्पहरू पुनः सक्रिय रूपमा छलफलमा ल्याइएको छ । यद्यपि, अन्तिम निर्णय भएको छैन । तर, अमेरिकी सेना र गुप्तचर निकायका उच्च अधिकारीहरूको बिदा रद्द गरिनु तथा तत्काल तयारी अवस्थामा रहन निर्देशन दिइनुले परिस्थितिलाई असाधारण रूपमा संवेदनशील बनाएको देखिन्छ ।

यसैबीच, इरानले पनि आफ्नो सैन्य सतर्कता उच्च बनाएको छ । तेहरानबाट प्राप्त सरकारी विवरण अनुसार इरानी सेनाले कुनै पनि सम्भावित आक्रमणको ‘कडा र तुरुन्त जवाफ’ दिने तयारी गरेको छ । पछिल्ला दिनहरूमा खाडी क्षेत्रमा गतिविधि बढेपछि इरानले आफ्ना नौसैनिक र रणनीतिक युनिटहरूलाई निगरानी र तयारी अवस्थामा राखेको दाबी गरिएको छ ।

होर्मुज जलसन्धिको अवस्था विशेष रूपमा चासोको केन्द्रमा छ । इरानी नौसेनाले पछिल्लो २४ घण्टामा उक्त जलमार्गबाट २५ वटा जहाज सुरक्षित रूपमा पार भएको दाबी गरेको छ । जुन सामान्य अवस्थाभन्दा निकै कम हो । विश्वको ऊर्जा आपूर्तिको अत्यन्त महत्वपूर्ण मार्ग मानिने होर्मुजमा दैनिक सयौं जहाज आवतजावत गर्ने गर्छन् । यदि होर्मुजमा तनाव बढ्यो भने विश्व बजारमा तेलको मूल्य र आपूर्ति शृङ्खलामा ठूलो असर पर्नेछ ।

खाडी क्षेत्रका मुलुकहरू भने खुला रूपमा युद्धको पक्षमा देखिएका छैनन् । साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारले अमेरिका र इरान दुवैलाई संयमता अपनाउन आग्रह गरेका छन् । उनीहरूले क्षेत्रीय स्थिरताका लागि सैन्य विकल्पभन्दा कूटनीतिक वार्ता नै उपयुक्त बाटो हुने भन्दै निरन्तर अपिल गरिरहेका छन् ।

यसै क्रममा मध्यस्थताको प्रयास पनि तीव्र बनाइएको छ । कतारी कूटनीतिक टोली तथा पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनिर हालै तेहरान पुगेको रिपोर्टले क्षेत्रीय शक्ति सन्तुलन र वार्ता प्रयासलाई नयाँ गतिमा पुर्‍याएको संकेत गरेको छ । यी भेटघाटलाई अमेरिका–इरान तनाव कम गर्ने सम्भावित कूटनीतिक प्रयासका रूपमा हेरिएको थियो ।

युरोपेली पक्ष पनि सक्रिय देखिएको छ । फ्रान्सले होर्मुज जलसन्धि खुला राख्न संयुक्त राष्ट्र सुरक्षा परिषदमा अन्तर्राष्ट्रिय समुद्री मिसन तैनाथ गर्ने प्रस्ताव तयार पारेको बताइएको छ । युरोपेली संघ (ईयू)ले भने इरानमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । विशेषगरी जलमार्ग अवरुद्ध गर्ने गतिविधिमा संलग्न संस्थाहरू र अधिकारीहरूलाई लक्षित गर्दै प्रतिबन्धको तयारी गरिएको हो ।

अमेरिकाभित्र ट्रम्प प्रशासनको रणनीति पनि बहुआयामिक देखिन्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानसँग जारी परमाणु वार्तामा इजरायललाई पूर्ण रूपमा समावेश गरिएको छैन । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार इजरायली अधिकारीहरूलाई वासिङ्टनबाट प्रत्यक्ष जानकारी दिइएको छैन । उनीहरू क्षेत्रीय गुप्तचर स्रोतहरूमा निर्भर रहन बाध्य भएको अवस्था छ ।

यसले इजरायल र अमेरिका बीचको रणनीतिक समन्वयमा असहजता देखिएको विश्लेषण गरिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका लागि यो कूटनीतिक रूपमा संवेदनशील अवस्था मानिएको छ । किनकि उनले ट्रम्पसँगको घनिष्ठ सम्बन्धलाई आफ्नो सुरक्षा रणनीतिको मुख्य आधार मान्दै आएका थिए ।

परमाणु सम्झौताबारे पनि नयाँ बहस सुरु भएको छ । ट्रम्प प्रशासन २०१५ को सम्झौताजस्तै सीमित अवधिका लागि इरानको युरेनियम संवर्द्धन नियन्त्रण गर्ने नयाँ ढाँचामा विचार गरिरहेको बताइएको छ । प्रस्तावित मोडेलअनुसार इरानले ३.६७ प्रतिशतसम्म संवर्द्धन सीमित गर्न सक्ने सम्भावना छ । जसलाई परमाणु हतियार निर्माणका लागि अपर्याप्त मानिन्छ ।

तर, इजरायलले यसलाई पर्याप्त नभएको भन्दै विरोध जनाएको छ । उसको मुख्य चिन्ता इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम वार्तामा समावेश नगरिनु र प्रतिबन्ध खुकुलो भएमा इरानले आर्थिक रूपमा बलियो बनेर हिजबुल्लाहजस्ता समूहलाई अझ सशक्त बनाउन सक्ने सम्भावनामा केन्द्रित छ ।

इरानी पक्ष भने सम्झौताप्रति पूर्ण रूपमा सशंकित देखिएको छ । आफ्ना सर्तहरू भने कडा रूपमा राखिरहेको छ । तेहरान युनिभर्सिटीका प्राध्यापक फोआद इजादीका अनुसार इरानले सीमित स्तरको परमाणु गतिविधिमा सहमति जनाउन सक्ने भए पनि त्यसका लागि आफ्नो ‘अधिकार र राष्ट्रिय हित’ सुनिश्चित हुनुपर्ने अडान राखिरहेको छ । इरानको रक्षा मन्त्रालयले पनि बाह्य दबाबका बीच देशको नीति परिवर्तन नहुने चेतावनी दिइरहेको छ ।

अन्तर्राष्ट्रिय सैन्य संगठन नाटोभित्र पनि यस विषयले मतभेद उत्पन्न गरेको छ । स्वीडेनमा सम्पन्न विदेशमन्त्रीहरूको बैठकमा होर्मुज जलसन्धि र इरान संकटबारे छलफल भए पनि साझा दृष्टिकोण बनाउन कठिन भएको बताइएको छ । नाटो महासचिव मार्क रुटेले इरानमाथि आरोप लगाउँदै विश्व अर्थतन्त्रलाई दबाबमा राख्ने रणनीति अपनाएको टिप्पणी गरेका छन् ।

तर, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपेली देशहरूको प्रतिक्रियाप्रति असन्तुष्टि जनाउँदै सुरक्षा चुनौती साझा भए पनि समर्थन कमजोर देखिएको बताएका छन् । यसले पश्चिमी गठबन्धनभित्र नै रणनीतिक एकता कमजोर भइरहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।

ट्रम्पको अचानक ह्वाइट हाउस फर्काइ, इरानसँगको गुप्त वार्ता, होर्मुज जलसन्धिमा बढ्दो तनाव र खाडी तथा युरोपेली शक्तिहरूको कूटनीतिक सक्रियताले मध्यपूर्वलाई पुनः एकपटक उच्च जोखिमयुक्त अवस्थामा पुर्‍याएको देखिन्छ । अन्तिम निर्णय अझै नआए पनि हालको संकेतहरूले स्थिति कुनै पनि बेला सैन्य टकरावतर्फ मोडिन सक्ने सम्भावना अस्वीकार गर्न नसकिने अन्तर्राष्ट्रिय विश्लेषकहरूको निष्कर्ष छ ।

तपाइको प्रतिक्रिया
संखुवासभाको मकालुमा पहिरो : २०० भेडा पहिरोमा पुरिए
अमेरिका–इरान थप टकरावको जोखिम बढ्दै, खाडी र युरोपेली शक्ति कूटनीतिक दौडमा
२७ देशद्वारा आपतकालीन आर्थिक सहयोग माग
मिल्स गोल्डकपः झापालाई हराउँदै उदयपुर सेमिफाइनलमा 
मिल्स गोल्डकपः झापालाई हराउँदै उदयपुर सेमिफाइनलमा 
ओली नेतृत्वमै समस्या समाधानको पक्षमा एमाले सचिवालय
सचिवालयमा एक्लिए ओली, तर, नेतृत्व नछाड्ने अडान
अलकत्राको भाउ बढ्दा राेकियाे महेन्द्र राजमार्गकाे कालोपत्र
वीरेन्द्र साहलाई केन्द्रीय सहकारी विभाग सदस्यको जिम्मेवारी
मोरङमा पहेँलो धातुको टिल देखाएर लुटपाट गर्ने गिरोह फेरि सक्रिय, पुरानै अभियुक्त पक्राउ
नेपाली कांग्रेस लाैकही भेलाकाे २८ बुँदे संकल्प (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.