
काठमाडौं । इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न क्षेत्र तत्काल खाली गर्न आदेश दिएको छ । नयाँ सैन्य आक्रमणको तयारीस्वरूप इजरायली रक्षा बल (आईडीएफ) ले उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गर्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिएको हो ।
आईडीएफका अनुसार लेबनानस्थित हेजबुल्लाह समूहले पटक–पटक युद्धविराम उल्लङ्घन गर्दै इजरायली क्षेत्र तथा सैनिकमाथि आक्रमण गरिरहेको छ । त्यसैले अब अत्यन्त कडाइका साथ सैन्य कारबाही अगाडि बढाइने चेतावनी इजरायली सेनाले दिएको छ ।
हेजबुल्लाहले भने युद्धविराम तोड्ने काम इजरायलले नै गरिरहेको आरोप लगाएको छ । हिजो इजरायली सेनाले दक्षिणी लेबनानको टायर सहरमा हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणपछि सीमावर्ती क्षेत्रमा तनाव थप चुलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा जारी स्थल सैन्य अभियानलाई थप विस्तार गरिने घोषणा गरेका थिए । उनले उत्तरी इजरायलका नागरिक तथा सीमावर्ती क्षेत्रमा रहेका सैनिकमाथि हेजबुल्लाहले ड्रोन आक्रमण गरेपछि इजरायलले सैन्य अभियान तीव्र बनाएको बताएका थिए ।
आईडीएफले दक्षिणी लेबनानका कम्तीमा नौ वटा स्थान खाली गर्न निर्देशन दिएपछि इजरायल–लेबनान सीमामा ठूलो सैन्य तनाव उत्पन्न भएको छ । पछिल्लो घटनाक्रमले मध्यपूर्व क्षेत्रमा फेरि व्यापक युद्धको जोखिम बढाएको विश्लेषण गरिएको छ ।



















