
एजेन्सी । काजकिस्तानको उत्तर–पूर्वी पाभ्लोडार क्षेत्रमा पर्ने झेलेजिन्का गाउँ नजिक बुधबार हवाई कृषि–रसायन छर्कने क्रममा एक विमान नियमित उडानको क्रममा दुर्घटनाग्रस्त भएको छ।
प्रारम्भिक जानकारीअनुसार उक्त विमानमा दुई जना चालक दलका सदस्यसहित उडिरहेको अवस्थामा अचानक विद्युत् प्रसारण लाइनमा ठोक्किएपछि ठूलो दुर्घटना भएको हो । ठोक्किनासाथ विमानमा क्षति पुगेको र नियन्त्रण गुमेपछि विमान जमिनमा खसेको बताइएको छ।
घटनास्थलमै एक जना चालक दलका सदस्यको ज्यान गएको छ भने अर्का सदस्य गम्भीर घाइते भएका छन् । स्थानीय आपत्कालीन उद्धार टोली तत्काल घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाएको छ । दुर्घटनापछि क्षेत्रमा उद्धार तथा सुरक्षा टोली परिचालन गरिएको थियो।
अधिकारीहरूले प्रारम्भिक रूपमा विद्युत् लाइनसँग ठोक्किनु नै दुर्घटनाको मुख्य कारण भएको अनुमान गरे पनि वास्तविक कारण, उडानको अवस्था, मौसमीय स्थिति तथा प्राविधिक पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको बताएका छन् ।



















