
धरान । श्रम संस्कृति पार्टीले २०८४ सालको स्थानीय तह निर्वाचनका लागि धरानको मेयर पदको उम्मेदवार टुंगो लगाएको छ । पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सामाजिक सञ्जालमार्फत धनबहादुर राईलाई धरानको भावी मेयरका रूपमा घोषणा गरेका हुन् ।
धरान–४ का पूर्ववडाध्यक्ष धनबहादुर राईलाई मेयरको उम्मेदवार बनाउने अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत औपचारिक घोषणा गरेका हुन् ।

अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत धरानको मेयरको विषय टुंगिएको बताएका छन् । उनले लेखेका छन्, ‘मैले धेरै सोचें, जनमत बुझें अनि मेरो पदचापलाई पछ्याउने धन ब.राई नै देखेँ ! आदरणीय निना चन्द्र सर प्रदेशको मन्त्री बन्नु पर्छ अनि धन ब.राई धरानको मेयर ! आज देखि मेयरको उम्मेदवारको विषय टुंगियो ! जय माटो ! जय देश !!’
मेयरका उम्मेदवार घोषित राई २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट धरान–४ को वडाध्यक्षमा निर्वाचित भएका थिए । तर, उनले एमाले परित्याग गरी वडाध्यक्ष पदबाट समेत राजीनामा दिएर श्रम संस्कृति पार्टीमा आबद्ध भएका थिए ।



















