
विराटनगर । छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराटनगरको टिडब्लुसिवाइ फुटबल क्लबले जितेको छ ।
विराटनगरस्थित जुट मिलको खेल मैदानमा भएको फाइनलमा टिडब्लुसिवाइले विराटनगरको कोशी प्रदेश प्रहरी कार्यालयलाई २–० गोलमा पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै टिडब्लुसिवाइले नगद २ लाख १ हजार १११ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता पुलिसले १ लाख १ हजार १११ रुपैयाँमा चित्त बुझायो ।
टिडब्लुसिवाइका लागि भुवन बस्नेत र अभिषेक लिम्बूले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४८ औँ मिनेटमा भुवनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले दोर्जे तामाङको पासलाई सदुपयोग गरे । खेलको ६६ औँ मिनेटमा अभिषेक लिम्बूले शानदार हेडमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनले दोर्जे तामाङकै कर्नर प्रहारमा गोल गरेका थिए ।
दोस्रो हाफमा एक गोलले पछि परेपछि दबाबमा आएको पुलिसले गोलका केही राम्रा अवसर गुमायो । खेलको ५० औँ मिनेटमा पुलिसका नितेश लिम्बूको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो । लगत्तै सन्दीप लिम्बूको प्रहारलाई टिडब्लुसिवाइका गोलकिपर पूर्ण चाम्लिङले उत्कृष्ट बचाउ गरे । खेलको ५५ औँ मिनेटमा टिडब्लुसिवाइका अमृत मिश्रको कडा प्रहारलाई पुलिसका गोलकिपर सचिन चौधरीले विफल पारे ।
खेलको प्लेयर अफ द म्याच पुलिसका सुमित प्रधानले २ हजार १ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको राइजिङ प्लेयर लालीगुराँस स्पोर्टिङ क्लबका अभि राम भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा टिडब्लुसिवाइका प्रवेश बस्नेत घोषित भए । उनले ४३ इन्चको टिभी पाए ।
अन्य विधातर्फ टिडब्लुसिवाइका पूर्ण चाम्लिङ उत्कृष्ट गोलकिपर, विरु गुरुङ उत्कृष्ट प्रशिक्षक र अमृत मिश्र सर्वाधिक गोलकर्ता भए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष द्वय वसन्त अर्याल, सन्तोषी श्रेष्ठ र मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष विष्णु डंगोललगायतले पुरस्कार प्रदान गरे ।



















