रुसको आक्रमणमा १२ जना मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २२, शुक्रबार ११:२५
फाइल तस्बीर

एजेन्सी । रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको पछिल्लो मिसाइल, बम र ड्रोन आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।

आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धका कारण मारिएका ७०७ बालबालिकाको स्मरण गरेका छन् । युक्रेनको राष्ट्रिय प्रहरी सेवाका अनुसार पूर्वी डोनेत्स्क क्षेत्रमा भएको आक्रमणमा ५ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

Advertisement

आत्रमणबाट सातवटा बस्ती प्रभावित बनेका छन् । आक्रमणबाट घर, स्वास्थ्य संस्था, एम्बुलेन्ससहित विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ ।

उत्तरी–पूर्वी खार्किभ क्षेत्रमा रुसले गरेको मिसाइल र ड्रोन आक्रमणमा ३ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् । सोही क्षेत्रमा अर्को आक्रमणमा थप २ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

मध्य युक्रेनको दिनिप्रोपेट्रोभ्स्क क्षेत्रमा रुसी गोलाबारीमा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । दक्षिणी खेरसन क्षेत्रमा पनि थप १ जनाको ज्यान गएको छ ।

राष्ट्रपति जेलेन्स्कीले सन् २०२२ देखि जारी युद्धमा रुसको आक्रमणबाट कम्तीमा ७०७ बालबालिकाले ज्यान गुमाएको बताएका छन् । उनले हजारौं बालबालिका घाइते, बेपत्ता र अपहरणमा परेको दाबी गरेका छन् । ‘सबैभन्दा असहाय बालबालिकाको मृत्यु युद्धको सबैभन्दा ठूलो पीडा हो, उनले भने ।

यसैबीच, क्रेमलिनले जेलेन्स्कीले वार्ता गर्न चाहे मस्को आउन सक्ने जनाएको छ । रुसी पक्षले पनि युक्रेनले कब्जामा रहेका क्षेत्रमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । दुवै देशबीच युद्ध थप चर्किंदै गएको देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.