
काठमाडौं । उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव डा. कृष्णहरि पुष्करलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले बिहीबार केहीबेर नियन्त्रणमा लिएर सोधपुछ गरेको खुलेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पठाइएको म्यासेजका विषयमा प्रहरीले उनीमाथि केरकार गरेको प्रहरी उच्च स्रोतले जनायो । स्रोतका अनुसार पुष्करले प्रधानमन्त्रीलाई सिधै व्यक्तिगत म्यासेज पठाएका थिए । उक्त म्यासेजमा उनले आफ्नो आगामी अवकाशपछि राजनीतिक वा संवैधानिक नियुक्ति प्राप्त गर्ने अपेक्षा व्यक्त गरेको बताइएको छ ।
प्रहरी स्रोतले औपचारिक रूपमा कुनै कसुर पुष्टि नभएको बताए पनि प्रारम्भिक जानकारी संकलनका लागि उनलाई केही समय नियन्त्रणमा राखेर सोधपुछ गरिएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सोधपुछपछि कुनै मुद्दा चलाउने आधार नदेखिएपछि उनलाई बिहीबार राति नै प्रहरीले छाडिदिएको छ । ‘सामान्य जानकारी लिन बोलाइएको थियो । थप कानुनी प्रक्रिया आवश्यक देखिएन,’ स्रोतले भन्यो ।
सचिव पुष्कर असार २४ गते अवकाशमा जाँदैछन् । अवकाश नजिकिँदै गर्दा उनले संवैधानिक निकाय वा अन्य आकर्षक सरकारी पदमा नियुक्ति पाउने सम्भावना खोजिरहेको चर्चा प्रशासनिक वृत्तमा पहिले देखि नै चल्दै आएको छ ।
यसअघि मुख्यसचिव पद रिक्त हुँदा पनि उनको नाम चर्चामा आएको थियो । तर, सरकारले अन्ततः सुमनराज अर्याललाई नियुक्त गरेको थियो । उच्च पदस्थ कर्मचारीहरूले राजनीतिक नेतृत्वसँग सिधा पहुँच बनाउने र अवकाशपछि विभिन्न लाभका पदमा नियुक्ति खोज्ने प्रवृत्ति नेपालमा पुरानो समस्या हो ।

























