सम्झौताको १४ बुँदे मस्यौदाले अमेरिका–इरान सम्बन्धमा नयाँ मोड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार ०७:३१

एजेन्सी । इरानले अमेरिकासँग प्रस्तावित १४ बुँदे शान्ति सम्झौताको मस्यौदा सार्वजनिक गरेको छ । इरानी सञ्चारमाध्यम मेहरका अनुसार दुवै देशबीच जारी कूटनीतिक संवादबाट तयार भएको उक्त मस्यौदामा इरानका अधिकांश प्रमुख मागहरू समेटिएका छन् ।

मस्यौदाअनुसार इरानमाथि तेल, पेट्रोलियमजन्य पदार्थ तथा अन्य निर्यातमा लगाइएका सबै प्रतिबन्ध हटाइने प्रस्ताव गरिएको छ । साथै, इरानले रोक्का गरिएका आफ्ना सम्पूर्ण वित्तीय स्रोतमा पुनः पहुँच पाउनेछ । रोक्का गरिएको २४ अर्ब अमेरिकी डलरमध्ये आधा रकम वार्ता सुरु हुनुअघि नै उपलब्ध गराइने र बाँकी रकम ६० दिनभित्र फुकुवा गरिने उल्लेख छ ।

Advertisement

प्रस्तावित सहमतिअनुसार अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूले इरानको पुनर्निर्माणका लागि करिब ३०० अर्ब अमेरिकी डलर बराबरको योजना अघि सार्नेछन् । लेबनानसहित विभिन्न क्षेत्रमा जारी युद्ध अन्त्य गरी स्थायी युद्धविराम लागू गर्ने, इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तथा उसको सार्वभौमसत्ताको सम्मान गर्ने प्रतिबद्धता पनि मस्यौदामा समावेश गरिएको छ ।

त्यसैगरी अमेरिकाले लगाएको समुद्री नाकाबन्दी हटाउने, इरान वरपरका क्षेत्रबाट आफ्ना सैनिक फिर्ता गर्ने तथा होर्मुज जलमार्गलाई ३० दिनभित्र पुनः सञ्चालनमा ल्याउने प्रस्ताव गरिएको छ । आणविक कार्यक्रमका विषयमा इरानले परमाणु हतियार निर्माण नगर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउनेछ । यद्यपि, इरानको क्षेप्यास्त्र कार्यक्रम र प्रतिरोधी समूहहरूलाई दिइने समर्थन भने सम्झौताको दायराबाहिर राखिएको छ ।

मस्यौदामा अन्तिम सहमतिका लागि ६० दिनको औपचारिक वार्ता अवधि तय गरिएको छ । सम्झौताको कार्यान्वयनको निगरानी विशेष संयन्त्रमार्फत गरिने तथा अन्तिम सहमतिलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को अनुमोदन प्राप्त गराउने प्रस्ताव पनि समेटिएको छ ।

यद्यपि, यस मस्यौदाका बारेमा अमेरिकी पक्षबाट हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । तर, सम्झौताको १४ बुँदे मस्यौदाले अमेरिका–इरान सम्बन्धमा नयाँ मोड ल्याइदिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.