फाइल फोटो ।विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट स्रोत नखुलेको नेपाली नगदसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले आइतबार दिउँसो करिब ३ बजेतिर भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङको जहदा गाउँपालिका–१ निवासी ५७ वर्षीय मोहमद नफिजलाई शंकास्पद अवस्थामा जाँच गरेको थियो । जाँचका क्रममा उनको साथबाट स्रोत खुलाउन नसकेको नेपाली नगद २ लाख ३३ हजार ८५० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद रकममध्ये एक हजार दरका १९७ थान, पाँच सय दरका ७३ थान, एक सय दरका तीन थान र ५० रुपैयाँ दरको एक थान नोट रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले नगदसहित नफिजलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । बरामद भएको अवैध हुण्डी कारोबारको भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

























