आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य: मन्त्री लिङ्थेप

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १३, शनिबार १०:१५
आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य: मन्त्री लिङ्थेप

विराटनगर । उद्योग संगठन मोरङको ५३ औँ वार्षिक साधारण सभा विराटगनरमा सम्पन्न भएको छ । आर्थिक एवं औद्योगिक प्रवर्द्धन र विकासको माध्यमबाट मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउँदै आएको उद्योगी, व्यापारीहरूको संस्था उद्योग संगठन मोरङको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

विराटनगरमा आयोजित एक समारोहका बीच संगठनले आफ्नो वार्षिक समीक्षा गर्नुका साथै मुलुकको वर्तमान आर्थिक अवस्था र आगामी दिशाबारे गहन छलफल गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशको आर्थिक समृद्धिको मुख्य आधार नै निजी क्षेत्र भएको स्वीकार गरे ।

Advertisement

उनले उद्योगी व्यवसायीको मनोबल उच्च बनाउन र लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । ‘उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ,’ मन्त्री लिङ्थेपले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले नीतिगत स्थिरता र लगानीमैत्री वातावरण भए मात्र दिगो औद्योगिक विकास सम्भव हुने बताए । यस्तै, महासंघका केन्द्रीय सदस्य एवं संगठनका पूर्वअध्यक्ष सुयश प्याकुरेलले नीति निर्माणमा उद्योग संगठन मोरङले खेल्दै आएको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उत्पादन लागत घटाउन र प्रतिस्पर्धात्मक क्षमता बढाउनु अहिलेको आवश्यकता रहेको बताए । नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले निजी क्षेत्रबीचको एकता र साझा एजेन्डाले मात्र आर्थिक पुनरुत्थान सम्भव हुने धारणा राखे । संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले आयात प्रतिस्थापन र युवा उद्यमशीलतामा जोड दिनुपर्ने जोड दिए ।

साधारण सभामा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले अर्थतन्त्रका केही सूचकहरूमा सुधार देखिए तापनि औद्योगिक क्षेत्र अझै चलायमान हुन नसकेको बताए । ‘विदेशी मुद्रा सञ्चिति, बैंकिङ प्रणालीको तरलता र ब्याजदरमा सुधार देखिए पनि उद्योग, लगानी र उत्पादनको क्षेत्रले अपेक्षित गति लिन सकेको छैन,’ अध्यक्ष राठीले भने, ‘अहिलेको चुनौती केवल तरलताको मात्र होइन, निजी क्षेत्रमा देखिएको आत्मविश्वासको कमी पनि हो ।’

अन्तर्राष्ट्रिय परिस्थितिका कारण आपूर्ति श्रृंख्ला र उत्पादन लागतमा दबाब परेको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रको प्रभावकारी सहकार्यबाट मात्रै लगानी र रोजगारीको नयाँ वातावरण निर्माण हुनेमा जोड दिए ।

त्यस अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने उद्योग र संस्थाहरूलाई सम्मान गरिएको थियो उच्च निर्यात योगदान उद्योग सम्मानबाट पशुपति खाद्य तेल उद्योग, उदीयमान निर्यात उद्योग सम्मानबाट जय श्री पियुटेक, आत्मनिर्भरता कदर सम्मानबाट एलेक्सा लाइफ साइन्सेस, उच्च रोजगार योगदान कदर सम्मानबाट अरिहन्त मल्टिफाइबर्स, उद्योग–शैक्षिक सहकार्य कदर सम्मानबाट जानकी पोलिट्यांक, उदीयमान स्टार्टअप उद्यमी कदर सम्मानबाट आरा टेक्नोलोजी तथा प्राविधिक शिक्षा तथा सीप विकास योगदान कदर सम्मानबाट दुहबी नगरपालिका र श्री इन्स्योर परियोजना सम्मानित भए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.